काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले हालै मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईँले डा. गोविन्द केसीको आन्दोलनको सन्दर्भमा आफ्नो नाम जोडेर दिएको अभिव्यक्तिको खण्डन गर्दै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी छिन् । उनले आफू कहिल्यै पनि डा. केसीको आन्दोलन र त्यसको शैलीको समर्थक नरहेको स्पष्ट पारेकी हुन् ।
नेतृ झाँक्रीले आफ्नो पोस्टमा लेखेकी छिन्, ‘म कहिल्यै पनि गोविन्द केसीको आन्दोलन र तरिका ठिक हो भन्ने मान्छे होइन । म ‘त्यो आन्दोलन’ को समर्थक कहिल्यै भइनँ ।’ उनका अनुसार, उक्त आन्दोलनको समर्थन नगरेकै र त्यसको विरुद्ध बोलेकै कारण त्यसबेला आफूमाथि सामाजिक सञ्जालमा ‘बुलिङ’ भएको थियो । उनले डिन कार्यालयलाई विश्वास नगर्ने हो भने शिक्षा कसरी विश्वसनीय बन्छ भन्ने प्रश्न गर्दै आफू अधिकार र कर्तव्यलाई त्यही छाड्नुपर्छ भन्ने मान्यता राख्ने व्यक्ति भएको उल्लेख गरेकी छिन् । मेडिकल शिक्षालाई नियोजन नभई नियमन गर्नुपर्छ भन्दा आफू खेदिन पुगेको र त्यो गलत कार्य भएको महसुस आज आएर भएको उनले बताएकी छिन् ।
झाँक्रीले २०७२ सालको भूकम्पपछिको असहज परिस्थितिमा सरकारविरुद्ध बालुवाटार घेर्न जाने अभियान चलाउने खगेन्द्र संग्रौलालगायतका व्यक्तिहरूसँग आफूले असहमति राखेको कारण आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको आरोप पनि लगाएकी छिन् । ‘खगेन्द्र संग्रौलाहरूले नेपाल बाहिर बन्दै गरेको एउटा होटललाई मेरो घर भनेर फेसबुक, ट्वीटरमा सेयर गर्दै गलत प्रचार गरे,’ उनले लेखेकी छिन्, ‘आज म बस्दै गरेको घरमा ‘जेन Z’ को नाममा भएको तोडफोड र लुटपाट त्यसकै परिणाम थियो ।’
नेतृ झाँक्रीले भ्रमहरू विस्तारै चिर्दै जाने र चिर्दै पनि गएको बताउँदै दुर्गा प्रसाईँलाई आफ्ना स्रोतहरू पुनः रुजु गर्न आग्रह गरेकी छिन् । उनले आफू सधैँ सत्यको पक्षमा उभिने व्यक्ति भएको र भीड तथा सस्तो लोकप्रियताको पछि कहिल्यै नलाग्ने र नलाग्ने पनि प्रतिबद्धता व्यक्त गरेकी छिन् ।


प्रतिक्रिया