काठमाडौं । नेपालको राजनीतिक परिदृश्यमा ठूलो परिवर्तन ल्याएको ‘जेनजी आन्दोलन’लाई ऐतिहासिक मोडमा पुर्याउने तयारी भइरहेको छ । सरकार र आन्दोलनकारी जेनजी समूहहरूबीच विस्तृत सम्झौता हुने निश्चित भएको हो ।
जेनजी आन्दोलनको दस्तावेजीकरण र कार्यान्वयनका लागि राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा लिखित सम्झौता गरिनेछ । २०६३ सालमा विस्तृत शान्ति सम्झौता गरिएजस्तै अहिले सरकार र जेनजी समूहहरू सम्झौता हुने तयारी भइरहेको छ । हाल विभिन्न जेनजी समूहहरूसँग अनौपचारिक छलफल जारी छ । केही दिनभित्रै औपचारिक वार्ताको आयोजना गरी सम्झौताको मस्यौदालाई अन्तिम रूप दिइनेछ ।
प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले जेनजीहरूसँगको संवाद र छलफलको संयोजन गरिरहेका छन् । औपचारिक वार्ता सफल भएमा छिट्टै राष्ट्रपति भवन शीतल निवासमा एक भव्य समारोहका बीच सम्झौतापत्रमा हस्ताक्षर हुनेछ ।
गत असोज २५ गते राष्ट्रपति भवन शीतल निवासमा जेनजी प्रतिनिधिहरूसँग सरकारले प्रारम्भिक छलफल आयोजना गरेको थियो । राष्ट्रपति पौडेलको अस्वस्थताका कारण उक्त दिन प्रधानमन्त्री सुशीला कार्की र केही मन्त्रीहरूसँग मात्र छलफल सम्भव भएको थियो । राष्ट्रपति अस्पतालबाट फर्किएपछि असोज ३० गते पुनः शीतल निवासमै दोस्रो चरणको वार्ता भएको थियो ।
यस छलफलमा राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ, कानुनमन्त्री अनिल सिन्हा, शिक्षामन्त्री महावीर पुन, कृषिमन्त्री मदन परियार र सञ्चारमन्त्री जगदीश खरेल सहभागी थिए । जेनजी, घाइते र सहिद परिवारका १६ जना प्रतिनिधिले आन्दोलनकारी पक्षको प्रतिनिधित्व गरेका थिए ।


प्रतिक्रिया