काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले भदौ २३ र २४ गतेको उपद्रवका नाममा राष्ट्रपतिसँग सम्झौता गरी अपराधीलाई उन्मुक्ति दिने प्रपञ्च सह्य नहुने बताएका छन् ।
उनले फेसबुकमार्फत यस्तो सम्झौता गर्ने ‘अनौठो बाध्यता’माथि प्रश्न उठाएका छन् ।
रिजालका अनुसार, उपद्रवको जिम्मेवारी कुनै आन्दोलनकारीले नलिएको र आफ्नै अनुकूलको सरकार बनेको पनि ४० दिन बितिसकेको अवस्थामा ‘कथित जेन-जी आन्दोलनकारी’ र राष्ट्रपतिबिच सम्झौता हुनुपर्ने कारण स्पष्ट छैन ।
उनले आन्दोलनको नाममा राष्ट्रिय र निजी सम्पत्तिमा आगजनी, तोडफोड तथा चोरी गर्नेहरूको मुकुण्डो उत्रिन थालेपछि अपराधबाट बच्न यस्तो प्रपञ्च गरिएको आरोप लगाएका छन्। रिजालले ‘अपराधीहरूले पानीमुनि गए पनि छुट नपाउने’ बताएका छन् ।
उनले लेखेका छन्, ‘न कुनै निश्चित आन्देलनकारी छन् न भदौ २३-२४ को उपद्रवको कुनै आन्दोलनकारीले जिम्मा लिएको छ । आफ्नै अनुकूलको सरकार बनेको पनि ४० दिन बितिसकेको छ । यति पछि आएर कथित जेनजी आन्दोलनकारी र राष्ट्रपतिबिच सम्झौता हुनुपर्ने के अनौठो बाध्यता आइपरेछ ? आन्दोलनका नाममा राष्ट्रिय र निजी सम्पत्ति आगजनी, तोडफोड र चोरी गर्नेहरूको मुकुण्डो एकपछि अर्को गरी उत्रिन थालेपछि अपराधबाट बच्नका लागि राष्ट्रपतिसँग सम्झौता गरी अपराधीलाई उन्मुक्ति दिने प्रपञ्च कुनै हालतमा सह्य हुन्न । आज नभए भोलि, ती अपराधीहरूले पानीमुनि गए पनि छुट पाउने छैनन् ।’


प्रतिक्रिया