‘सत्ता जोगाउने ढाल, प्रतिस्पर्धी र बिपक्षी बिदेशी दलाल’

‘सत्ता जोगाउने ढाल, प्रतिस्पर्धी र बिपक्षी बिदेशी दलाल’



बि.स.१७०७ मा तिब्बतसँग कान्तिपुरको ब्यापार बढाएर तिब्बतबाट फर्किएका काजी भीम मल्ललाई दरबारका भारदारहरुले तत्कालीन राजा लक्ष्मीनरसिह मल्लको कानमा अनेक कुरा भरेर षड्यन्त्र गर्दा उनलाई बिदेशी दलालको आरोप लगाएर मृत्युदन्ड दिइयो ।

बि.स. १८७१ को कालापानी युद्धमा बहादुरी पुर्वक लडेका बलभद्र कुँवरलाई आफ्नो प्रतिस्पर्धी ठानेर तत्कालीन मुख्तियार भीमसेन थापाले बिदेशीसँग मिलेर युद्ध हारेको अनि बलभद्र कुँवर अङ्ग्रेजहरुको जासुस रहेको झुठो आरोप लगाएर देश छोड्न बाध्य गराएपछि उनी पन्जाब सेनामा भर्ती भएर उतै युद्ध लडी मृत्यु वरण गरे । आफ्नो सत्ता अकन्टक राख्न भीमसेन थापाले अर्का प्रतिस्पर्धी अमर सिह थापालाई पनि अङ्ग्रेजको दलाल करार गर्दै जनरलको पद छोडन बाध्य गराएपछि उनी गोसाइँकुण्ड गएर प्राण त्याग गरे!

राजकाज त्यागेर स्वामी महाराज बनी भारतको बेतियामा निर्वासित जीवन बिताइरहेका रणबहादुर शाहलाई फेरि राजकाजमा फर्कन रहर लाग्दा उनलाई राजकाजमा फर्कन रोक लगाएका मुलकाजी (प्रधानमन्त्री) दामोदर पाँडेले बि.स.१९५८ मा गरेको नेपाल-अंग्रेज बाणिज्य सन्धीको अत्तो थापेर दामोदर पान्डेलाई अङ्ग्रेजको दलाली गरेको आरोप लगाउदै छोडेको शासन सत्ता आफ्नो हातमा लिएर बि.स. १९६१ मा भद्रकाली स्थित लुमडीको थानमा तत्कालीन प्रधानमन्त्री दामोदर पाँडेको काटेर हत्या गरियो ।

३० बर्षे पन्चायती ब्यबस्थाले बिपी कोइराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिह, कृष्णप्रसाद भट्टराई,गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारीहरुलाई अराष्टिय तत्व र बिदेशीको दलाल आरोप लगाउदै आफ्नो सत्ता चलाइ रह्यो । त्यसैगरी तत्कालीन दरबारको खिलापमा रहेका सुर्यबहादुर थापालाई राजाका आसेपासेहरुले भारतीय दलालको रुपमा चित्रित गर्दथे । २०४६ सालको बहुदलीय ब्यबस्थामा सत्ता मा पुगेका शेरबहादुर देउवालाई अमेरिकन एजेन्ट भएको आरोप लगाइयो, केपी वली, माधब नेपाल, झलनाथ खनाल, प्रचण्ड, बाबुराम भट्टराई,कृष्णबहादुर महराहरुलाई कहिले भारतीय कहिले चिनियाँ दलालको उपमा दिएर बदनाम गरियो । त्यसैगरी २०६२/६३को आन्दोलनबाट उदाएका युवा नेता गगन थापालाई कहिले दरबारिया, कहिले “र” अनि भारतीय एजेन्ट, कहिले सिआइए अनि अमेरिकन एजेन्ट भएको प्रचार गरियो ।

रास्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर ६ महिना मै चुनाबमा राम्रो मत प्राप्त गरेका रवी लामीछानेलाई अमेरिकन एजेन्ट भएको आरोप लगाइन्छ । जनमानसमा राम्रै प्रभाव बनाएका काठमाडौंका मेयर बालेन साहलाई पनि बिदेशी दलाल करार गर्दै हुर्मत लिइन्छ । गत भदौ २३-२४मा भएको आन्दोलनबाट गठन भएको सुशीला कार्की नेतृत्वको सरकारलाई सत्ताबाट अपदस्त भएका दलहरूले आइएनजीइओ र बिदेशी दलालको समर्थन भएको सरकार भनेर प्रचार प्रसार गर्न मै ब्यस्त छ ।

यसरी नेपालको इतिहासदेखि बर्तमानसम्मको अध्ययन गर्दा शासकहरुले आफ्नो शासन बलियो बनाउन आफ्ना आलोचक, विपक्षी र प्रतिस्पर्धीहरुलाई बिदेशी जासुस र दलाल करार गर्दै आफ्नो सत्ता बलियो बनाउने दाउपेचमा लागिरहे । कुनै दलका अमुक नेताले जनतामा राम्रै प्रभाव जमाएका कुनै अर्को नेतालाई बिदेशी एजेन्टको बिल्ला भिराइ दियो भने त्यस पार्टी सबद्ध कार्यकर्ता,पत्रकार, बुद्धिजीवीहरु पनि सोही नेताको बोलीमा लोली मिलाउदै बिदेशी दलाल करार गर्न मै ब्यस्त हुन्छ्न ।

देशमा कोही मान्छेले ख्यातिप्राप्त काम गर्यो की त्यस ब्यक्तिलाई कि बिदेशी दलाल,कि बिदेशी जासुसको पदवी दिएर उसको हुर्मत लिइन्छ । प्रमाण दिनु नपर्ने, झुठो आरोप लगाए पनि कोही कसैले दण्ड सजाय भोग्नु नपर्ने,अरुलाई बिदेशी दलाल भएको आरोप लगायो आफ्नु दुनो सोझ्यायो । सत्तामा बसेर हालीमुहाली गर्ने चरित्र कै कारण नेपालको राजनीति अस्थिर र अस्तब्यस्त अबस्था मै रहिरह्यो ।