काठमाडौं । भर्खरै युवा तथा खेलकुद मन्त्रीको शपथ लिनुभएका बब्लु गुप्तामाथि ‘पैसाका लागि जे पनि गर्न सक्ने’ व्यक्तिको आरोप लागेको छ। सामाजिक सञ्जालमा सक्रिय शोभा पाठकले मन्त्री गुप्ताले आफूलाई एक्लै कोठामा राखेर धम्की दिएको समेत उल्लेख गरेकी छन्।
एक युट्युब च्यानलसँगको कुराकानीमा पाठकले भनिन्, “बब्लु गुप्ता पैसाका लागि जे पनि गर्न सक्ने मान्छे हो। मलाई एक्लै कोठामा लगेर धम्की दिइयो।” पाठकका अनुसार केही दिनअघि माइतीघरमा भेट हुँदासमेत गुप्ताले आफ्नो आँखामा हेर्न नसकेको र नमस्कार गरेर तुरुन्तै फर्किएको उनले बताइकी छन् ।
गुप्ताले नेकपा एमाले नेता महेश बस्नेतसँगको मिलेमतोमा आफूलाई दुर्गा प्रसाईंविरुद्ध मुद्दा हाल्न धम्की दिएको आरोपसमेत पाठकले लगाएकी छन्।
शोभा पाठकको भनाइ जस्ताको तस्तै:
“जुन बेला हाम्रो त्यो बेडको फोटो बाहिर आएको थियो, त्यतिबेला दुर्गा प्रसाईं र महेश बस्नेतबीच ‘वार कि पार’को अवस्था चलिरहेको थियो। त्यो समयमा म आफैं मानसिक रूपमा निकै विछिप्त अवस्थामा थिएँ। त्यसै बेला दुर्गा प्रसाईंविरुद्ध मुद्दा हाल्ने कुरा उठ्यो। मुद्दा हाल्ने कुरा आएपछि म अघि बढिनँ, किनभने त्यो काम आसा भारतीजीले गर्नुपर्ने भनिएको थियो। तथ्यमा पुग्नुपर्ने भएकाले मैले आसा भारतीजीलाई अगाडि सारें।
तर, दुर्गा प्रसाईंलाई मुद्दा नहाल्ने कुरा भएपछि महेश बस्नेतलगायतले मलाई पेप्सीकोलास्थित एउटा घरमा लिएर जानुभयो। त्यहाँ पुगेपछि बब्लु गुप्ता पनि त्यही उपस्थित हुनुहुन्थ्यो। त्यो दिनसम्म म उहाँलाई व्यक्तिगत रूपमा चिन्दिनँ-कोरोना कालमा काम गरेको भनेर नाम मात्रै सुनेकी थिएँ।
त्यो घरको कोठामा मलाई लगेर तीन-चार जना पुरुषहरू थिए, म एक्ली महिला थिएँ। केही दिनअघि माइतीघरमा उहाँ (गुप्ता) लाई भेट्दा पनि उहाँले मेरो आँखामा हेर्न सक्नुभएन, नमस्कार गर्नुभयो तर एक शब्द पनि बोल्न सक्नुभएन र एक मिनेट पनि टिक्न सक्नुभएन।
म यति मात्र भन्छु– बब्लु गुप्ता पैसाका लागि जे पनि गर्न सक्ने मान्छे हुन्। मलाई एउटा कोठामा लगेर भनियो-या त यो भन, नत्र तेरो ज्यान छैन। त्यसलाई के भनिन्छ, तपाईंहरूले नै बुझ्न सक्नुहुन्छ।”


प्रतिक्रिया