काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी सभापति शेरबहादुर देउवामाथि गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्राण लिने उद्देश्यले साङ्घातिक आक्रमण भएको बताएका छन् ।
नेपाल तरुण दलको ७३ औँ स्थापना दिवसका अवसरमा कांग्रेस केन्द्रीय कार्यालयमा सोमबार आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा कार्यवाहक सभापति खड्काले यस्तो बताएका हुन् ।
उनले भने, ‘भदौ २४ गते सभापति शेरबहादुर देउवा र पार्टी केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि प्राण लिने उद्देश्यले साङ्घातिक आक्रमण भयो ।’ देउवा दम्पतीमाथि बुढानीलकण्ठस्थित निवासमा आन्दोलनकारीले आक्रमण गरेर घाइते बनाएका थिए ।
कार्यवाहक पूर्णबहादुर खड्काले तरुणहरूलाई जुझारु भएर मुलुक, जनता र संविधानको रक्षाका लागि समर्पित हुन आग्रह गरेका छन् । उनले नेपाल इतिहासकै प्रतिकूल अवस्थामा उभिएको र कांग्रेस पार्टीसमेत प्रतिकूल अवस्थामा रहेको उल्लेख गर्दै देश जोगाउन सङ्कल्पसहित अगाडि बढ्न आग्रह गरे ।
“शान्ति, सुशासन कायमका लागि जेन जेड युवाले गरेको शान्तिपूर्ण आन्दोलन घुसपैठ हुँदा मुलुकले ठूलो विपत्ति सामना गर्नुपर्यो, भदौ २४ गते देशको न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकामाथि आक्रमण गरेर ध्वस्त बनाइयो, जनतालाई अधिकार सम्पन्न बनाउन लागेका सन्तनेताको आश्रम खरानी बनाइयो, देशको सिङ्गै राज्यप्रणालीमाथि आक्रमण गरेर प्रतिकूल अवस्थामा पुर्याइयो,” उनले भने ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको संरक्षण गरेको भन्दै कार्यवाहक सभापति खड्काले उनको प्रशंसा गरे । उनले प्रतिकूल अवस्थामा नेपाल तरुण दलको स्थापना दिवस मनाउँदै गरेको अवस्थामा धैर्य भएर एकताबद्ध हुँदै सङ्गठित भएर सुशासन र समृद्धिको अभियानमा लाग्न आग्रह गरे ।
कार्यवाहक सभापति खड्काले एकताको भावबाट चालु केन्द्रीय समितिको बैठकबाट पार्टीको नियमित अधिवेशन, देशको निर्वाचन, भ्रातृ संस्थाका निर्वाचनलगायतलाई सम्बोधन गर्नेगरी बृहत् एकताका माध्यमबाट प्रतिकूलतालाई चिर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले राष्ट्रिय एकता र संविधानको रक्षाका लागि मुलुकको सबै दल र पक्षहरूलाई एकताबद्ध गर्ने प्रस्ट मार्गदर्शनका साथ भरोसायोग्य कदम नेपाली कांग्रेसले चाल्ने विश्वास दिलाए ।
नेपाली जनता र राष्ट्रले कांग्रेससँग धेरै आशा, अपेक्षा र भरोसा गरेको भन्दै जनतामा रहेको सार्वभौमसत्ताको रक्षाका लागि एकताबद्ध भएर लाग्न सभापति देउवाले जिम्मेवारी प्रदान गरेको भन्दै कार्यवाहक सभापति खड्काले संयमता र धैर्यताका साथ सबैलाई मिलाएर विगतका कमजोरीलाई केलाएर समीक्षा गर्दै बृहत् एकताद्वारा अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरे ।


प्रतिक्रिया