म्याग्दी । यतिबेला मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ । जसले गर्दा होटलहरु पर्यटकले भरिभराउ छन् । त्यसक्षेत्रका होटल व्यवसायीहरु पनि उत्साहित छन् । होटल सञ्चालकलाई आवास व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।
दशैँ, तिहार, छठलगायत चाडपर्वको लामो बिदामा विद्यार्थी, युवा, कर्मचारी, बैंक तथा वित्तीय संस्था र चाडपर्व मनाउन विदेशबाट जन्मथलो आएकाको रोजाइमा मुस्ताङ र अन्नपूर्ण आधार शिविर पर्ने गर्छ । स्थल मार्गबाट घुम्नेहरुका रोजाइमा ती चार जिल्लाका पर्यटकीय स्थल परेको छ ।
आन्तरिक पर्यटकको पहिलो रोजाइमा मुस्ताङ जिल्लाको मुक्तिनाथ दर्शन गर्ने गन्तव्य बनेको छ । मुस्ताङ पुगेकाहरुले कोरला नाका, लोमान्थाङ दरबार, छोसेर गुफा, चिउँसी गुफा, चराङ गुम्बा, मराङ गुम्बा, कागबेनी, ढुम्बाताल र मार्फा गाउँको भ्रमण गर्ने गर्दछन् ।
त्यहाँ बर्सेनि आठ लाख बढी आन्तरिक र डेढ लाख बढी विदेशी पर्यटकले मुस्ताङको भ्रमण गर्ने गर्छन ।
छोटो अवधीमा पहाडी र हिमाली क्षेत्रको एकै पटक साहसिक यात्रामा रुची राख्नेहरु म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण हिमालको आधार शिविरमा पुगेका छन् ।
फुतफुते झरना र अन्नपूर्ण हिमालको फेदीमा रहेको निलो रङको पञ्चकुण्ड ताल हुँदै चार हजार एक सय ९० मिटर उचाइमा रहेकाे अन्नपूर्ण आधार शिविर पुगिन्छ । तीन दिनमा आधार शिविर पुगेर फर्कन सकिन्छ ।
निलगिरि र अन्नपूर्ण हिमालको फेदमा समथर फाँटमा रहेको अन्नपूर्ण आधार शिविर नयाँ गन्तव्य पनि हो । म्याग्दी हुँदै सडक मार्ग भएर दैनिक आठ हजार जना मुस्ताङ भित्रिएका छन् भने अन्नपूर्ण आधार शिविर जानेको सङ्ख्या दैनिक पाँच सय जना भन्दा बढी छ ।


प्रतिक्रिया