एमालेसँग पनि संवादमा छौं : प्रकाण्ड

एमालेसँग पनि संवादमा छौं : प्रकाण्ड



काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले नेपालका कम्युनिस्ट पार्टीहरूलाई एक ठाउँमा ल्याउन आफूहरूले प्रयास गर्ने बताएका छन् ।

निर्वाचन आयोगमा कम्युनिस्ट पार्टी नेपाल दल दर्ता गर्न निवेदन दिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कम्युनिस्ट पार्टी एकताबद्ध गर्ने उद्देश्यले समाजवादी मोर्चा गठन गरेको बताए ।

उनले भने, ‘अहिले माओवादी, नेकपा एस, नेकपा मसालसँग पनि छलफल जारी छ। एमालेसँग पनि हामीले छलफल गरिरहेका छौँ । नेपालको सबै माओवादी र कम्युनिस्ट धारहरूसँग छलफल चलिरहेको छ । कतिपयसँग घनिभूत छलफल गरिरहेका छौँ भने केहीसँग प्रारम्भ गरेका छौँ ।’

संवादमा रहेका दलहरूसँग छलफल सकारात्मक रहेको रहेको बताए । उनले थपे, ‘वैचारिक दृष्टिले हामी निकट पुगेका छौँ । अहिले बहस क्रान्तिकारी कम्युनिस्ट पार्टी र त्यसको लिडरसिपको विषयमा चलिरहेको छ । अहिले एकताको विषय कसैसँग भाँडिसकेको छैन । कम्युनिस्ट पार्टीको नीति, सिद्धान्त, नेतृत्वबारे छलफल चलिरहेको छ । यसमा गम्भीर प्रयास गर्‍यौँ भने केही समय लाग्छ हुन्छ भन्ने हाम्रो विश्वास छ ।’