हिमपातका कारण तिलिचाे बेस क्याम्पमा फसेका ७ सय ५० जनाको उद्धार

हिमपातका कारण तिलिचाे बेस क्याम्पमा फसेका ७ सय ५० जनाको उद्धार



काठमाडौं । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले हिमाली जिल्लामा हिमपातमा फसेका व्यक्तिको उद्धार गरेका छन् ।

गएरातिदेखि परेको हिउँका कारण मनाङको तिलिचो बेस क्याम्पमा अलपत्र परेका सात सय ५० जनालाई उद्धार गरी डिस्याङ गाउँपालिका–९ काे खाङसार ल्याइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

अन्य ५० जनालाई तिलिचो बेस क्याम्पमा सुरक्षित साथ राखिएको छ । मनाङ घुम्न गएका पर्यटकलाई खाङसारमा बसोबासको समस्या भएपछि सुरक्षित साथ फर्कने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

यसैबीच तिलिचो तालबाट फर्कने क्रममा लेक लागेर बेहाेश भएका काठमाडौं महानगरपालिका–३१ का ४५ वर्षीय वीरेन्द्र रसाइलीलाई सशस्त्र प्रहरी, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङले खाङसारबाट हुम्डे स्वास्थ्य चौकीसम्म ल्याएको छ ।