जेनजीको एकताका लागि पहल गरिदिन प्रधानमन्त्रीसँग माग

जेनजीको एकताका लागि पहल गरिदिन प्रधानमन्त्रीसँग माग

सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच भोलि त्रिपक्षीय वार्ता


ग्लोब नेपाल
135
Shares

काठमाडौँ । जेनजेड युनाइडेट फर परिवर्तन’का प्रतिनिधिहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका छन् ।

मंगलवार सिंहदरबारमा जेन–जी आन्दोलनका घाइते, शहीद परिवारका सदस्यहरूसहित युनाइटेडका प्रतिनिधिहरूले प्रधानमन्त्री कार्कीसँग छलफल गरेका हुन् ।

छलफलमा सहभागी जेन–जेड युनाइटेडका प्रतिनिधिहरूले जेन–जी युवाहरूलाई एकताबद्ध राख्नको लागि सरकारको तर्फबाट पहल गर्न माग गरेको बताएका छन् । छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै जेन–जी युनाइटेड फर परिवर्तनकी एक प्रतिनिधिले देशभरका जेन–जी युवाहरूको एकताका लागि पहल गरिदिन गृहमन्त्री ओमप्रकाश अर्याल र प्रधानमन्त्री सुशीला कार्कीलाई पत्र बुझाएको बताए ।

उनले जेन–जी आन्दोलनको माग र मर्मअनुसार मुलुकलाई अगाडि बढाउन देशभरका जेन–जीहरू एक हुन आवश्यक रहेकोले सो अभियान जेन–जी युनाइटेड अभियान चलाइरहेको पनि बताए । उनले जेन–जी समूहहरूलाई एकताबद्ध गर्न सरकारको तर्फबाट आवश्यक पहल गर्नेकुरामा प्रधानमन्त्री कार्की सकारात्मक रहेको पनि बताए ।

उनले भने ‘हामीले जेन–जी युवाहरूको एकताका लागि पहल गर्न भनेर जुन अपिल लेटर तयार पारेका थियौँ त्यो लेटर प्रधानमन्त्री र गृहमन्त्रीलाई बुझाइसकेका छौँ । उहाँबाट पनि सकारात्मक प्रतिक्रिया नै आएको छ । जनेजी पुस्तालाई युनाइटेड गर्नको लागि उहाँले पहल गर्नुहुनेछ भन्नेकुरामा हामी अझैपनि आशावादी नै छौँ । हाम्रो माग पूरा गर्नको लागि सरकारले पहल गर्नेछ भन्ने आशा लिएका छौँ । यदि हाम्रो माग पुरा भएन भने फेरी मुलुकले अर्कै मोड लिनेछ । सबै जिल्लाका जेन–जी युवाहरू युनाइटेड भएर आउनुपर्छ र त्यसका लागि सरकारले वातावरण निर्माण गर्न सहयोग गर्नुपर्छ भन्ने नै हाम्रो मुख्य माग हो ।’

जेन–जेड युनाइटेडले जेन–जी समूहहरूको एकताका लागि खबरदारी गर्दै आएको छ ।

भोलि त्रिपक्षीय वार्ता
सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिहरूबीच त्रिपक्षीय वार्ता हुने भएको छ । वार्ता भोलि (बुधबार) दिउँसो ४ बजे प्रधानमन्त्री कार्यालयमा हुनेगरी तय भएको छ । निर्वाचनको वातावरण तयार पार्नेगरी प्रधानमन्त्री सुशीला कार्कीले वार्ता आह्वान गरेकी हुन् ।

स्रोतका अनुसार, विभिन्न ८/९ वटा समूहका जेनजी प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र प्रधानमन्त्री–मन्त्रीहरूसहितको त्रिपक्षीय वार्ता हुन लागेको हो । बैठकमा निर्वाचनको वातावरण तयार पार्नका लागि सबै पक्षले आ–आफ्नो ठाउँबाट खेल्नुपर्ने भूमिकाका बारेमा छलफल हुने प्रधानमन्त्री कार्यालय निकट स्रोतले बताएको छ ।