घुसपैठियाहरुले प्रतिनिधिसभाको विघटन गरे : माधव नेपाल

घुसपैठियाहरुले प्रतिनिधिसभाको विघटन गरे : माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभाको विघटन घुसपैठियाहरुले गरेको आरोप लगाएका छन् ।

पार्टी केन्द्रीय समितिको बैठकमा अध्यक्ष नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमा भदौ २३ मा जेनजी पुस्ताले गरेको आन्दोलनमा संविधान र संसद् विघटनको माग नभएको भन्दै प्रतिनिधिसभा विघटन गराउने काम घुसपैठियाहरुले गरेको बताएका हुन् ।

उनले जेनजी पुस्तासहित सबै पक्षसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको पनि बताएका छन् । ‘निर्धारित समयमा प्रतिनिधिसभाको चुनाव गराई ताजा जनादेशबाट बन्ने संसदबाट वर्तमान संविधान संशोधन गरेर जेनजी पुस्ताले उठाएका मागको सम्बोधन गर्न सकिन्छ’, अध्यक्ष नेपालले भनेका छन्– ‘जेनजी पुस्ताको माग वर्तमान संविधानको खारेजी र संसद् विघटन थिएन ।’

नेपालले जेनजी पुस्ताको माग लोकतन्त्रको अन्त्य गर्ने नभई लोकतन्त्रलाई अझ बढी जनपक्षीय बनाउने रहेको समेत बताएका छन् । ‘उनीहरुले यहि मौकामा लोकतन्त्रलाई समाप्त पार्ने उद्देश्यले संविधान खारेज गराउने र अस्थिरता निम्त्याएर मुलुकलाई असफल राष्ट्र बनाउने षड्यन्त्र गर्दैछन्’, नेपालले भनेका छन्– ‘यसमा जेनजी पुस्तासमेत सचेत हुनुपर्दछ ।’

अध्यक्ष नेपालले फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन मिति घोषणा भए पनि निर्वाचनको वातावरण बनिनसकेको बताए । ‘सरकारले निर्वाचनको वातावरण निर्माण गर्न पर्याप्त पहल गर्न सकेको छैन । राजनीतिक दलहरूले पनि निर्वाचन केन्द्रित कार्यक्रम अगाडि सारेका छैनन्’, नेपालले आगामी दिनको परिस्थिति कसरी बढ्छ भन्ने यकिन नभएको बताएका छन् । उनले लामो सङ्घर्ष र बलिदानीबाट प्राप्त उपलब्धि गुम्न दिनुहुँदैन भन्नेमा सचेत रहेको समेत बताएका छन् ।

प्रधानमन्त्री कार्कीको अभिव्यक्ति सुन्दा सरकार रहिरहन्छ वा रहँदैन भन्ने प्रश्न उठेको अध्यक्ष नेपालको जिकिर थियो । उनले भने, ‘अब चुनावमा जाने बाहेक विकल्प छैन । चुनाव सम्भव होला, चुनाव गराउन यो सरकारले सक्ला ? प्रश्न गम्भीर रूपमा उठेको छ । प्रधानमन्त्रीको अभिव्यक्ति सुन्दा पनि चुनौतीको सामना पनि गर्छु भनिरहेको सुनिन्छ, तर दिक्दारी पनि बेला बखतमा पोख्ने गरेको देखिन्छ । यही सरकार रहिरहन्छ कि के हुन्छ भन्ने प्रश्न पनि उठेका छन् ।’