काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेट भएको छ । दक्षिण कोरियाको दक्षिणी तटीय सहर बुसनमा ट्रम्प र सीबीच बहुप्रतिक्षित भेट भएको हो ।
वार्ताका लागि प्रवेश गर्दै गर्दा ट्रम्पले वार्ता सफल हुने बताएका छन् । राष्ट्रपति सी कडा वार्ताकार भएको पनि उनले बताए । ‘हाम्रो वार्ता सफल हुनेछ । तर उहाँ निकै कडा वार्ताकार हुनुहुन्छ जुन त्यति राम्रो होइन,’ ट्रम्पले भने ।
वार्ताका क्रममा चिनियाँ राष्ट्रपति सीले चीन-अमेरिका सम्बन्ध बलियो बनाउन मिलेर काम गर्न आफू तयार रहेको बताएको भनेर रोयटर्सले लेखेको छ ।
‘दुई देशको सम्बन्ध र विकासका लागि हामी तपाईंसँग मिलेर काम गर्न तयार छौं,’ सीले भनेका छन् ।
राष्ट्रपति सीले दुई प्रमुख आर्थिक शक्तिबीच घर्षण हुनु स्वाभाविक रहेको पनि बाएका छन् । ‘चीन र अमेरिका मित्र र साझेदार हुनुपर्छ,’ राष्ट्रपति सीले भने ।
दोस्रो कार्याकाल सुरू भएपछि ट्रम्पले पहिलो पटक चिनियाँ राष्ट्रपति सीसँग प्रत्यक्ष वार्ता गरेका हुन् । दुई देशबीचको सम्बन्ध उतारचढावमय भए पनि दुई राष्ट्रपतिको भेट सौहार्दपूर्ण ढंगले सुरू भएको छ ।
दुवै राष्ट्रपति पत्रकारहरू अगाडि बसे र एकअर्कासँग हात मिलाएर वार्ताका लागि भवनभित्र गएका छन् । गिम्हे विमानस्थलमा रहेको वायुसेना अड्डा भित्र दुई देशबीच प्रतिनिधिमण्डस्तरीय भेटवार्ता अहिले भइरहेकाे छ ।


प्रतिक्रिया