काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले केन्द्रीय समिति बैठकमा धारणा राखेका केन्द्रीय सदस्यहरूमध्ये अधिकांशले चुनावपछि नियमित महाधिवेशनमा जानुपर्ने कुरा राखेको बताएका छन् ।
बिहिबार केन्द्रीय समिति बैठकपछि सानेपामा पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता महतले फागुन २१ को राष्ट्रिय चुनावपछि महाधिवेशनमा जानुपर्छ भन्ने धारणा बढी आएको र कतिपय धारणा भने त्यसअघि नै महाधिवेशन गर्नुपर्छ भन्ने पक्षमा पनि आएको बताए ।
‘केन्द्रीय समिति बैठक सकिएको छैन । केन्द्रीय सदस्यहरूले आफ्ना कुरा राख्नुभएको छ, हामी केन्द्रीय समिति बैठक छिटो सकेर निष्कर्षमा पुग्न चाहन्छौं,’ उनले भने, ‘आज अधिकांश साथीहरूले सुरक्षालगायत सबै परिस्थिति बन्यो भने फागुन २१ को चुनावमा जानुपर्छ भन्ने कुरा राख्नुभएको छ ।’
उनले नियमित वा विशेष महाधिवेशन भन्ने कुरा पनि उठेको बताउँदै अधिकांशले चुनावपछि नियमित महाधिवेशनमा जानुपर्ने कुरा राखेको बताए ।
‘राष्ट्रिय निर्वाचनपछि अधिवेशनमा जाने कुरा त हामी जानैपर्छ भन्ने कुरा धेरै साथीहरूको छ । केही साथीहरूले पहिले पनि सम्भव छ भन्ने कुरा राख्नुभएको छ,’ उनले भने ।
यो बैठक असोज २८ कै केन्द्रीय समितिको निरन्तरता बैठक हो । केन्द्रीय समिति बैठक भोलि दिउँसो १ बजे पुन: बस्नेछ । बैठकमा आज १५ जनाले धारणा राखेका छन् ।
आजको बैठकमा बोल्नेहरूमा मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, बहादुर सिंह (लामा) तामाङ, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार के.सी., रंगमती शाही, मदनकृष्ण श्रेष्ठ, सीताकुमारी राना, विद्यादेवी तिमिल्सीना, शान्ति परियार वि.क., लक्ष्मी खतिवडा, आमन्त्रित केन्द्रीय सदस्य पुष्पराज पराजुली, आमन्त्रित प्रदेश सभापतिहरू इन्द्रबहादुर बानियाँ (बागमती) र अमरसिंह पुन (लुम्बिनी) रहेका छन् ।
यसअघि असोज २८ गते सुरु भएको भएको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले स्वास्थ्य अवस्थाको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् ।
त्यसयता उनको सभापतित्वमा कार्यसमितिको बैठक बसिरहेको छ ।


प्रतिक्रिया