काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीको कालमोचनमा रहेको राममन्दिर परिसरमा बनेका व्यावसायिक टहराहरू भत्काएको छ । गुठी संस्थानको जग्गा हडपेर बनाइएका टहराहरूमा महानगरले आज डोजर चलाएको हो ।
महानगरका अनुसार यी टहराहरूले मन्दिर परिसरको सुन्दरतालाई असर पुर्याइरहेको थियो । गुठी संस्थानको जग्गा हडपेर यस्ता संरचनाहरू निर्माण गर्ने प्रवृत्ति रोक्न यो अभियान आवश्यक रहेको महानगरले जनाएको छ ।
यसअघि अस्थायी घर तथा संरचनाहरू हटाउन ३५ दिनको सूचना दिइएकोमा अटेर गरेपछि महानगरले डोजर चलाएको हो । काठमाडौं महानगरपालिकाले अवैध संरचना हटाउने अभियानलाई निरन्तरता दिँदै आएको छ ।
महानगर यसअघि बानेश्वर कम्प्लेक्स, काठमाडौं मल र आरबी कम्प्लेक्समा बनेका अनधिकृत संरचना भत्काएको थियो । त्यस्तै दरबारमार्ग र न्युरोडमा सार्वजनिक सडक मिचेर बनेका संरचनाहरूमा डोजर चलेको थियो । यसैगरी असन र इन्द्रचोकमा अस्तव्यस्त पसलहरू हटाएर त्यस क्षेत्रलाई सफा र व्यवस्थित बनाइएको छ ।


प्रतिक्रिया