कांग्रेसको अन्डर–४० समूहले पार्टी कार्यालयमा लगायो ताला

कांग्रेसको अन्डर–४० समूहले पार्टी कार्यालयमा लगायो ताला



काठमाडौं । नेपाली कांग्रेसको युवा कार्यकर्ताले सानेपास्थित केन्द्रीय कार्यालयको मूल गेटमा तालाबन्दी गरेका छन् ।

नियमित महाधिवेशनको माग राखेर ‘कांग्रेस सुधार अभियान (अन्डर–४०)’ले पार्टी कार्यालयको मूल गेटमा तालाबन्दी गरेका हुन् ।

पार्टी कार्यालय प्रवेश गर्ने मुखैमा प्रहरीको सुरक्षा घेरा तोडेर अभियान सम्बद्ध समूह पार्टी कार्यालयको गेटसम्म पुगेको हो । उनीहरूले नियमित महाधिवेशन र युवाको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने मागसहित प्रदर्शन गरेका छन् । पार्टी कार्यालयको प्रांगणमा जान गेट बन्द गरिएसँगै उनीहरूले बाहिरै बसेर नाराबाजी गरे ।

उनीहरूले ‘नियमित महाधिवेशन गर्न नसके, वर्तमान केन्द्रीय समिति विघटन गरियोस् !, आम कांग्रेसजन र युवाहरूको भावनालाई नजरअन्दाज नगरियोस् !’लगायत नारा लगाएका छन् ।

२८ असोजदेखि सुरु भएको केन्द्रीय समितिको बैठक पटक-पटक स्थगित हुँदै आएको छ ।

शुक्रबारका लागि बैठक डाकिएको थियो । तर बस्दै नबसी बैठक आजका लागि सारिएको थियो । तर आजको बैठक पनि नबसी मंगलबारका लागि सारिएको छ ।