काठमाडौं । मनास्लु क्षेत्रमा मौसम सुधार हुँदै गएपछि पहिला बन्द गरिएको मनास्लु क्षेत्रको पदमार्ग पुनः खुला गरिएको छ ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अनुसार गोरखा जिल्ला प्रशासन कार्यालयको अनुमति र स्थानीय प्रतिनिधिहरूसँगको समन्वयमा मनास्लु पदयात्रा मार्ग आजदेखि पर्यटकका लागि खुला गरिएको हो ।
टानका अनुसार आरुघाट–जगत, विहि, सामागाउँ, साम्दो हुँदै लार्के पास पार गरेर मनाङ पुग्ने मार्ग सुरक्षित रहेको पुष्टि भएको छ । साम्दोबाट करिब ४०० जना पर्यटक र सहयोगी टोलीका सदस्यहरू धर्मशाला पुगेका छन्, र उनीहरू भोलि लार्के पासतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको टानले जनाएको छ ।
टानले सबै सदस्य ट्रेकिङ कम्पनीलाई अनिवार्य रूपमा पदयात्रा पथप्रदर्शक तथा सहयोगीसहित सावधानी अपनाई पर्यटक पठाउन आग्रह गरेको छ ।
खोर्लाबेसीसम्म सडक यातायात सहज भए पनि त्यसपछि जगत, फिलिम, ड्याङ, न्याकलगायतका क्षेत्रमा माटोको ढिस्का तथा ढुङ्गा खस्ने सम्भावना भएकाले पदयात्रा गर्दा विशेष सतर्कता अपनाउन टानले अनुरोध गरेको छ ।


प्रतिक्रिया