काठमाडौं । नेपालको वाम आन्दोलन फेरि एक पटक वैचारिक मोडमा उभिएको छ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एमालेमा फर्कने सम्भावनालाई जोड दिँदै समाजवादी क्रान्तिको बाटो अपनाउनुपर्ने शर्त राखेका छन् । एमालेप्रति माया रहे पनि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सुस्थिर चिन्तन नभएको भन्दै उनले आलोचना गरे ।
एमालेसँग एकता नभए नयाँ पार्टी निर्माण अवश्यम्भावी रहेको उनको ठहर छ । माओवादी केन्द्रभित्रको पुनर्गठन प्रयाससँग निकटता सम्भव रहेको उनले संकेत गरे । राष्ट्रिय संकटको निकास निर्वाचन होइन, संसद पुनःस्थापना वा राष्ट्रपतिको सहजीकरणमा सर्वपक्षीय सम्मेलन रहेको उनले भने । प्रमुख पार्टी नेतृत्व यो कार्यकालमा फेल भएको ठहर गर्दै नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्नेमा उनले जोड दिए ।
एमाले फर्कने शर्तः समाजवादी क्रान्तिको प्रतिबद्धता
खनालले एमालेसँग एकताको ढोका खुला रहेको बताए । तर यसका लागि स्पष्ट वैचारिक शर्तहरू उनले राखेका छन् । उनी भन्छन्, “एमाले फर्कन तयार छौँ, तर समाजवादी क्रान्तिको बाटो अवलम्बन गर्नुपर्छ । जनताको बहुदलीय जनवादलाई मात्र होइन, समाजवादी क्रान्ति र रूपान्तरणको बाटोमा अघि बढ्न तयार भए मात्र हामी फर्कन सक्छौँ ।”
एमालेप्रतिको माया र आलोचनाः सुस्थिर चिन्तनको अभाव
नेता खनालले एमालेलाई आफ्नो जीवनको वैचारिक सन्तानका रूपमा बताए । “एमाले सुरुमा हामीले बनाएको त्यही पार्टी हो । हामीलाई त्यो पार्टीप्रति माया, ममता अहिले पनि छ,” उनले भावुक हुँदै भने । तर यो माया अन्धभक्ति होइन । उनी थप्छन्, “यदि त्यो पार्टीले बीचमा उत्पन्न भएका गलत कुराहरूलाई सच्याउँछ र वैचारिक धरातलमा सही विचारमा फर्किन्छ भने, हामी पुनः एकताबद्ध भएर जान सक्छौँ ।”
तर उनले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्टि पनि व्यक्त गरे । “एमालेभित्र सुस्थिर चिन्तनको हामी अपेक्षा गर्छौँ । तर ओलीजीमा त्यो सुस्थिर चिन्तन विकसित हुन सकेको छैन,” उनले भने । खनालको आलोचना पार्टीको प्रचारमुखी, अवसरवादी र व्यक्तित्व–केन्द्रित प्रवृत्तितर्फ लक्षित छ । उनी एमालेलाई सामूहिक नेतृत्व र दीर्घकालीन समाजवादी दृष्टिकोणतर्फ फर्काउन सके सबै नेता कार्यकर्ता पार्टीमा समाहित हुन सहज बन्ने बताए ।


प्रतिक्रिया