काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षले केन्द्रीय समिति बैठकमा नियमित महाधिवेशनको मितिसहितको प्रस्ताव लैजाने भएको छ।
सोमबार काठमाडौंमा बसेको संस्थापन पक्षका नेताहरूको छलफलले बहुमत केन्द्रीय सदस्यका साथमा १५ औं महाधिवेशनको तिथि मितिसहितको प्रस्ताव मंगलबार बस्ने केन्द्रीय समिति बैठकमा लिएर जाने निर्णय गरेको कांग्रेस केन्द्रीय सदस्य गुरु बरालले जानकारी दिए ।
आफूहरूले राखेको प्रस्ताव नै अन्तिम हुने र त्यही अनुसारको निर्णय हुने उनले बताए । बरालले पदाधिकारी र कार्यसम्पादन समितिले महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्न नसकेकाले निकासको प्रयास गरेको बताए ।
त्यस्तै काँग्रेस नेता किरणराज पौडेलले पार्टीको नियमित महाधिवेशनको कार्यतालिका यथाशीघ्र प्रस्तुत गर्न दबाब दिने निर्णय भएको बताए । विधानअनुसार सभापति, महामन्त्री लगायत चल्नुपर्ने उनको भनाइ छ ।
महाधिवेशनका विषयमा देखिएको विवादका कारण पटक पटक स्थगित हुँदै आएको कांग्रेस केन्द्रीय समिति बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।


प्रतिक्रिया