काठमाडौं । गायिका एलिना चौहानको हालै सम्पन्न ‘अब गाउँछ अमेरिका’ टूरसम्बन्धी विवाद अझै टुंगोमा पुगेको छैन । आयोजक फ्लाइ नेपा ट्राभल्स र चौहानबीच सामाजिक सञ्जालमार्फत आरोप–प्रत्यारोप जारी छन् ।
टूर नसकिँदै चौहान गत साता स्वदेश फर्किएकी थिइन् । स्वदेश फर्किएलगत्तै उनले आयोजकले आफूलाई “नोकरझैँ व्यवहार गरेको” भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि प्रकट गरेकी थिइन् ।
विवाद चर्किँदै गएपछि आयोजक फ्लाइ नेपा ट्राभल्सले पनि एक विज्ञप्ति जारी गर्दै आफ्नो पक्ष स्पष्ट गरेको छ । आयोजकले चौहानले करारविपरीत अन्य संस्थाबाट रकम लिएर कार्यक्रम गरेको प्रमाण भेटिएको दाबी गरेको छ ।
‘करार उल्लंघ भएपश्चात् गायिका एलिनाको अब गाउँछ अमेरिकाको बाँकी कार्यक्रम रद्द गरिएको हो । उहाँलाई करार रद्दबारे अन्याय भएको महसुस भए कानुनी बाटो अपनाउन सक्नुहुन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।
आयोजकले चौहानलाई अफवाह नफैलाउन आग्रह गर्दै सामाजिक सञ्जालमा आइरहेका विभिन्न दाबीहरूबारे शंका व्यक्त गरेको छ ।
यता, केही दिनअघि चौहानले न्यूयोर्कको एक कार्यक्रमको बिल सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आयोजकका आरोपहरू असत्य भएको बताएकी छिन् ।
एलिनासँगै टूरमा गएका गायकद्वय बद्री पँगेनी र प्रताप दास भने अहिले पनि अमेरिकामै रहेका छन् । चौहानले विभिन्न युट्युब अन्तर्वार्ताहरूमा आयोजकले लगाएका सबै आरोपको खण्डन गरेकी छन् ।


प्रतिक्रिया