पहिलो ३ महिनामा विदेशबाट ३ सय ७९ नेपालीको शव ल्याइयो

पहिलो ३ महिनामा विदेशबाट ३ सय ७९ नेपालीको शव ल्याइयो

मलेसियामा धेरै नेपालीले ज्यान गुमाए


ग्लोब नेपाल
162
Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन (साउन, भदौ र असोज) महिनामा ३ सय ७९ युवाले ज्यान गुमाएका छन् । यो संख्या विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम लिनेको हो । यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउनेको सङ्ख्या अझ धेरै छ ।

बोर्डका अनुसार यस अवधिमा बोर्डको कल्याणकारी कोषबाट २३ करोड ९० लाख रुपियाँ मृतक श्रमिकका परिवारका सदस्यले आर्थिक सहायता लिएका छन् । बोर्डले श्रम स्वीकृति लिएर गएका नेपाली श्रमिकको मृत्यु भएमा श्रमिकका परिवारले प्रतिमृतक श्रमिक बराबर १० लाख रुपियाँ आर्थिक सहायता दिँदै आएको छ । बोर्डबाट आर्थिक सहायता पाउने मापदण्डमा नपरेका श्रमिकको सङ्ख्या जोड्ने हो भने विदेशमा मृत्यु हुनेको सङ्ख्या अझ बढी छ ।

यसै गरी यस अवधिमा रोजगारीका क्रममा विदेशमा विभिन्न कारणले अङ्गभङ्ग भएका २३६ श्रमिकलाई न्यूनतम एक लाखदेखि बढीमा १० लाख रुपियाँसम्म आर्थिक सहायता दिने गरेको जनाएको छ । बोर्डका अनुसार आव २०६५/६६ साउनदेखि चालु आवको असोजसम्म विदेशमा १५ हजार २४१ जनाले ज्यान गुमाएका छन् ।

यो सङ्ख्या बोर्डको सचिवालयबाट आर्थिक सहायता रकम लिनेको मात्रै हो । यस अवधिमा मलेसियामा सबैभन्दा बढी नेपालीले ज्यान गुमाएका छन् । चालु आवको तीन महिनामा दुई लाख १० हजार युवा वैदेशिक रोजगारीमा जाँदा ३७९ नेपाली श्रमिकको विदेशी भूमिमा मृत्यु हुनु सामान्य मान्न सकिँदैन ।

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले स्थानीय तह र विदेशस्थित नेपाली दूतावासबाट वैदेशिक रोजगारीका क्रममा हुने घाइते वा अङ्गभङ्ग भएकाले पाउने आर्थिक सहायताको जानकारी बढ्दै गएसँगै सहायता लिनेको सङ्ख्या पछिल्लो पटक बढेको बताए ।