दुर्गा प्रसाईंलाई भारतीय नेतृत्वको चेतावनी

दुर्गा प्रसाईंलाई भारतीय नेतृत्वको चेतावनी

राजा फर्काउने अभियानसँग हामीलाई जोडेर झुठो प्रचार गरे राम्रो हुँदैन


ग्लोब नेपाल
378
Shares

काठमाडौं । राजावादी अभियन्ता एवं विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं सुटुक्क दिल्ली पुगेको खुलासा भएको छ । भारतीय सञ्चार माध्यम एनडिटिभीले प्रसार्ईं आफ्ना छोरासहित भारतमा रहेको पुष्टि गरेको छ ।

आगामी ७ मंसिरबाट आन्दोलन घोषणा गरेका प्रसाईंले राजतन्त्रको पक्षमा समर्थन जुटाउन आफू भारत जाने यसअघि नै बताएका थिए । युटुबरहरुसँगको कुराकानीमा उनले नेपाललाई भारतमा गाभे हुने विवादास्पद अभिव्यक्ति समेत दिएका थिए ।

एनडिटिभीका अनुसार भारतीय राजनीतिक नेतृत्वले प्रसाईंलाई भेट्न अस्वीकार गरेको छ । ‘प्रसाईं राजा फर्काउने आफ्नो अभियानमा भारतको साथ रहेको देखाउन चाहन्छन’, समाचारमा भनिएको छ, ‘तर, भारतीय नेताहरुले उनलाई इग्नोर मात्र गरेका छैनन्, आफूहरुलाई जोडेर नेपालको आन्तरिक मामिलामा बोले राम्रो नहुने चेतावनी प्रसाईंलाई दिएका छन् ।’

कूटनीतिक र सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै समाचारमा भारतीय अधिकारीहरूले प्रसाईंंलाई अभियानबाट आफूहरु पूर्ण रुपमा अलग रहेको जवाफ दिएका छन् । भारतले नेपालमा निर्वाचचित सरकार र स्थायित्व चाहेको उनीहरुको भनाइ छ ।

‘अधिकारीहरूले प्रसाईँलाई दिल्लीमा कुनै राजनीतिक चलखेलका गतिविधि नगर्न तथा आफ्नो अभियानमा भारतीय समर्थन रहेको झुठो दाबी गर्दै हिंडेमा राम्रो नहुने चेतावनी दिएका छन् ।’

भारतीय अधिकारीहरुले नेपालमा असन्तुष्ट झुण्डभन्दा मुलधारका राजनीतिक शक्तिसँगको सहकार्यलाई जोड दिने र नेपालमा राजनीतिक हस्तक्षेप गरेको अनुभूति नगराउने स्पष्ट गरेको समाचारमा छ ।

गत १५ चैतमा तीनकुनेमा हिंसात्मक प्रदर्शनको नेतृत्व गरेका प्रसाईं भागेर सिक्किम पुगेका थिए । उनलाई भारतीय प्रहरीले पक्राउ गरी नेपाली सुरक्षाकर्मीको जिम्मा लगाएको थियो ।

प्रसाईंले युट्युबरहरुसँगको कुराकानीमा पटकपटक आफ्नो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग राम्रो सम्बन्ध रहेको दाबी गर्दै आएका छन् । उनको उक्त दाबीका कारण भारतीय नेताहरु प्रसाईंसँग थप चिढिएका छन् ।