आयोगलाई रविको जवाफ- गृह र प्रहरी नेतृत्वले नै बाहिर पठाएका हुन्

आयोगलाई रविको जवाफ- गृह र प्रहरी नेतृत्वले नै बाहिर पठाएका हुन्



काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले भदौ २४ गते नख्खु कारागारबाट आफू भागेको नभएर प्रशासनले नै बाहिर निकालेको बताएका छन् । त्यसरी निकालिनु नियमसंगत नभएको भन्ने कुरा बुझेपछि आफैँ फर्किएको उनले बताए ।

जेनजी आन्दोलनका क्रममा भएका घटनाको जाँचबुझ आयोगले सोमबार नख्खु कारागारमै गएर भेट्दा लामिछानेले उक्त कुरा बताएका हुन् । आयोग पदाधिकारीहरूको प्रश्न थियो, ‘तपाईँ किन र कसरी यहाँबाट निस्कनुभएको हो ?’ जवाफमा लामिछानेले भने, ‘आफ्नो इच्छाले जेलबाट बाहिरिएको थिइनँ ।’

आफू जेलभित्र हुँदा समग्र सुरक्षास्थिति चुनौतीपूर्ण हुने भयो भन्दै आफूलाई तत्कालीन गृह र प्रहरी नेतृत्वले बाहिर पठाएको जवाफ दिएका छन् ।

लामिछानेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘पछि म बाहिर गएकोबारे अनेक किसिमका टीकाटिप्पणी भए, त्यो काम अनुचित हो भनेपछि म आफैँ फर्किएँ, मलाई पुलिसले समातेर ल्याएको होइन ।’

स्रोतका अनुसार लामिछानेलाई जेलबाट बाहिर पठाउने काममा क-कसको, के-कस्तो भूमिका छ भन्नेबारेमा स्पष्ट हुनका लागि आयोगको टोलीले भेट गरेको हो । यसअघि विभिन्न व्यक्तिको कल डिटेल्स रेकर्डको लिंक चार्टका आधारमा रवि जेलबाट बाहिर निस्कने घटनामा जोडिएका अन्य व्यक्ति पनि पहिचान भएका थिए । त्यसबारे आयोगले उनलाई सोधपुछ गरेको थियो ।