कांग्रेस संस्थापनको कार्यतालिका– वैशाख २७ देखि ३० सम्म नियमित महाधिवेशन

कांग्रेस संस्थापनको कार्यतालिका– वैशाख २७ देखि ३० सम्म नियमित महाधिवेशन



काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले आगामी वैशाख २७ देखि ३० सम्म पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेको छ ।

पार्टीको जारी केन्द्रीय समिति बैठकमा मंगलबार संस्थापन पक्षको तर्फबाट सहमहामन्त्री महेन्द्र यादवले कार्यतालिकासहित आगामी वैशाखमा पार्टीको नियमित महाधिवेशन गर्ने प्रस्ताव राखेका हुन् ।

महामन्त्री गगन थापाले भने आगामी पुस १६ गतेदेखि १९ गतेसम्म पार्टीको नियमित महाधिवेशन प्रस्ताव गरेका छन् ।

सहमहामन्त्री महेन्द्र यादवको कार्यतालिकामा मङ्सिर २० गतेसम्म क्रियाशील सदस्यता नवीकरण गर्ने पुस ५ गतेसम्म नयाँ सदस्यता वितरण गर्ने उल्लेख छ । पुस २० गतेसम्म क्रियाशील सदस्यता छानबिन सम्पन्न गरी निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने यादवको कार्यतालिकामा उल्लेख छ ।

चैत्र १ गते वडा अधिवेशन गर्ने, चैत्र ५ गते पालिका अधिवेशन गर्ने, चैत्र १२ गते प्रदेश क्षेत्रीय अधिवेशन गर्ने, चैत्र २० गते संघीय क्षेत्रीय अधिवेशन गर्ने, चैत्र ३० गते जिल्ला अधिवेशन गर्ने र वैशाख १५ गते सात प्रदेशको अधिवेशन गर्ने उल्लेख छ । वैशाख २७–३० गते १५ औ केन्द्रीय महाधिवेशन गर्ने उल्लेख छ ।

कांग्रेसमा महाधिवेशनको मितिबारे विवाद छ । त्यो विवाद केन्द्रीय कार्यसमितिमा कार्यतालिका प्रस्तुत गर्ने बेलामा पनि देखिएको हो ।

महामन्त्री थापाले पेस गरेको कार्यतालिकामा क्रियाशील सदस्यता वितरण र नयाँ सदस्यता वितरण आगामी मङ्सिर १० गतेसम्म गर्ने, मङ्सिर १० देखि २० गतेसम्म क्रियाशील सदस्यता छानबिन गर्ने उल्लेख छ ।

त्यस्तै त्यो क्रियाशील सदस्यताको विवरण मङ्सिर २४ गते पार्टीको निर्वाचन समितिलाई हस्तान्तरण गर्ने, मङ्सिर २७ गते वडा अधिवेशन गर्ने उल्लेख छ । पुस ५ गते क्षेत्रीय अधिवेशन गर्ने र पुसको १६ देखि १९ गतेसम्म १५ औ केन्द्रीय महाधिवेशन गर्ने थापाको कार्यतालिकामा उल्लेख छ ।

सहमहामन्त्री महेन्द्र यादवले प्रस्ताव गरेको महाधिवेशन कार्यतालिका :

मंसिर २० गतेसम्म : क्रियाशील नवीकरण
पुस ५ गतेसम्म : नयाँ वितरण
पुस २० गतेसम्म : निर्वाचन समितिलाई क्रियाशील हस्तान्तरण
चैत १ गते : वडा अधिवेशन
चैत ५ गते : पालिका अधिवेशन
चैत १२ गते : प्रदेश क्षेत्रीय अधिवेशन
चैत २० गते : संघीय क्षेत्रीय अधिवेशन
चैत ३० गते : जिल्ला अधिवेशन
वैशाख १५ गते : सात प्रदेश अधिवेशन
वैशाख २७–२९ गते : १५औँ केन्द्रीय महाधिवेशन