माओवादी र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा

माओवादी र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा



काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितका ९ वटा पार्टीहरूबिच आज एकता घोषणा हुने भएको छ ।

माओवादी केन्द्रका नेता अग्नि सापकोटाले एकताका लागि यसअघि सहमति पत्रमा हस्ताक्षर गरेका पार्टीबिच काठमाडौंको भृकुटीमण्डपमा आज बिहान ११ बजे एकता घोषणा हुने बताए ।

एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने बताइएको छ । पार्टीको चुनाव चिह्न पाँच कुने तारा राख्ने दलहरूबिच सहमति भएको छ । यसअघि हिजो नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले पार्टी एकतासम्बन्धी प्रस्ताव पारित गरेको थियो ।

आउँदो फागुन २१ गतेका निम्ति तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कात्तिक मसान्तसम्म दल दर्ताको समय दिइएको छ । सोही कारण छिट्टै नयाँ दल दर्ता गर्न जाने नेताहरूले बताएका छन् ।

आइतबार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिस्ट पाटी नेकपा (माओवादी–समाजवादी) र नेकपा (साम्यवादी)बीच पार्टी एकता र कम्युनिस्ट एकीकरणको प्रकृया अगाडि बढाउन हस्ताक्षर गरिएको छ ।

यी पार्टीहरूबीच १८ बुँदे सहमति भएको थियो ।

यद्यपि यो एकताको विरोध गर्दै माओवादी केन्द्रका नेता जनार्दन शर्मा समूहले छुट्टै अभियान घोषणा गरिसकेका छन् । उता एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत पनि एकता प्रक्रियामा सामेल नहुने भएका छन् ।