बिनासर्त एमाले फर्कने रामकुमारी समूहको घोषणा

बिनासर्त एमाले फर्कने रामकुमारी समूहको घोषणा

हँसिलो अनुहारले बोलिदिए पुग्छ


ग्लोब नेपाल
216
Shares

काठमाडौं । नेपालको कम्युनिस्ट आन्दोलनमा ध्रुवीकरणको नयाँ अध्याय सुरु भएसँगै नेकपा एकीकृत समाजवादीभित्र भने तीव्र मतभेद देखिएको छ । नेकपा माओवादी केन्द्रसहित ९ कम्युनिस्ट घटकहरू मिलेर ‘नेपाल कम्युनिस्ट पार्टी’ घोषणा गर्न लागेकै दिन एकीकृत समाजवादीको एउटा प्रभावशाली समूहले पार्टी परित्याग गरी नेकपा एमालेमा फर्कने घोषणा गरेको हो ।

नेतृ रामकुमारी झाँक्रीको नेतृत्वमा रहेको समूहले आज बिहान बसेरा होटलमा पत्रकार सम्मेलनको आयोजना गर्दै एमालेमा फर्कने घोषणा गरेको हो । पूर्वमन्त्री किसान श्रेष्ठ बिना सर्त एमालेमा फर्कन चाहेको औपचारिक घोषणा गरे । ‘हामीलाई कुनै पदको लोभ छैन, हँसिलो अनुहारले बोलिदिए पुग्छ । त्यो वातावरणका लागि एमालेसँग निरन्तर छलफलमा छौं ।’

एकीकृत समाजवादीका केही नेताहरूले माओवादी केन्द्रसँगको एकता प्रक्रियामा असहमति जनाउँदै आएका थिए । उनीहरूले पार्टीको अस्तित्व र औचित्यमाथि प्रश्न उठाउँदै एमालेसँगको एकता नै स्वाभाविक हुने तर्क गर्दै आएका थिए ।

यसअघि, एकीकृत समाजवादी र माओवादी केन्द्रबीच पार्टी एकताका लागि विभिन्न चरणमा वार्ता भए पनि झाँक्री समूहलगायतका नेताहरूको असहमतिले गर्दा प्रक्रियाले पूर्णता पाउन सकेको थिएन । आजै ९ कम्युनिस्ट पार्टीहरू एक भई नयाँ दल घोषणा गर्न लागेका बेला एकीकृत समाजवादीमा आएको यो फुटले नेपालको वामपन्थी राजनीतिमा नयाँ तरङ्ग ल्याउने निश्चित छ ।