एकता सम्मेलनमा झलनाथ खनाल : प्रचण्डको विश्वासमा आएँ

एकता सम्मेलनमा झलनाथ खनाल : प्रचण्डको विश्वासमा आएँ



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वासमा आफू पार्टी एकतामा सामेल भएको बताएका छन् ।

बुधबार भृकुटीमण्डपमा जारी १० घटकको एकता सम्मेलनमा उनले केही ‘रिजर्भेसन’ भए पनि प्रचण्डको विश्वासमा आएको बताएका हुन् । “म केही ढिला आएको हो । ढिलो आउनुको केही कारण छन् । मैले कमरेड प्रचण्डलाई भनिसकेको छु । हामी त्यो कुरा मिलाउँछौँ भनेर प्रतिबद्धता व्यक्त गर्नुभएको छ,” उनले भने, “त्यही विश्वासका आधारमा केही रिर्जभेसन भए पनि एकताको केही विकल्प छैन । एकतामा बल पुर्‍याउन यहाँ आएको हो ।”

उनले आफूहरू कहिल्यै पनि पार्टी विभाजनको पक्षमा नरहेको बताए । “हामी कहिल्यै पनि अनेकताको पक्षमा छैनौँ । कम्युनिस्ट आन्दोलनलाई जहिल्यै एकताबद्ध बनाउन चाहन्छौँ । पार्टी फुटोस् भनेर चाहेका होइनौँ,” उनले भने ।

खनालले थपे, “कम्युनिस्ट पार्टीभित्र केही कुरा पसे । ती पसेका कुराले कम्युनिस्ट पार्टी फुटेको छ, फुट्दै आएको छ । जे पसेको छ त्यसलाई निकालेर फ्ल्यानुपर्‍यो । त्यसले फेरि पार्टी नफुटोस् ।”