काठमाडौं । नवघोषित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेन–जी आन्दोलनले दलहरूबीचको एकता गर्ने अवस्था निर्माण गरेको बताएका छन् । दल एकता सभालाई सम्बोधन गर्दै उनले जेन–जी आन्दोलनमा सहभागी युवाले दलहरु कहाँकहाँ चुके भनेर कमजोरी उजागर गरेको बताए ।
‘जेन–जी आन्दोलनले कमजोरी उजागर भयो । हामी कहाँ चुक्यौँ भनेर सोसल मिडियामार्फत भ्रष्टाचारका विरुद्ध र सुशासनको पक्षमा आवाज उठाइदिनुभयो,’ उनले भने, ‘पार्टी सच्चिनुपर्छ भनेर आन्दोलनमार्फत नवपुस्ताले सुझाव दिनुभयो । एकै दिनमा धेरै बलिदान गर्ने महान सहितहरूलाई सम्मान गर्न चाहन्छु ।’
उनले यो एकतामा जेन–जी आन्दोलनको भूमिका रहेको उल्लेख गर्दै अब कमजोरी प्रति सचेत हुने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘एकताको नयाँ सुरुवात गर्ने ठाउँमा आउँथ्यौँ, वा नआउनेथ्यौँ । तर, जेन–जी आन्दोलनले यति चाँडै एकता हुने अवस्थामा ल्याइदियो ।’
उनले ‘हामी कहाँनेर चुक्यौँ भनेर समीक्षा गर्ने ऐतिहासिक अवसर’ भएको समेत बताएका छन् ।
संयोजक प्रचण्डले आजको दिन इतिहासमा अविस्मरणीय हुने बताए । उनले एकढिक्का भएर देशका अघि देखिएका चुनौतीको सामाना गर्न सक्ने विश्वास पैदा भएको बताए ।
“आजको दिन नेपाली कम्युनिस्ट इतिहासमा कहिल्यै नबिर्सिने दिन हुनेछ । किनकि एकैसाथ १० वटा घटकको एकता भएको सम्भवतः इतिहास नेपालमा छैन । दुईवटा, तीनवटा मिल्ने त भयो होला, यो खाली कम्युनिस्ट आन्दोलनको एकताको दृष्टिकोणले मात्रै ऐतिहासिक होइन,” प्रचण्डले अघि भनेका छन्, “यो नेपाली राजनीतिमा अहिले देखा परेका चुनौती संकट समाधान गर्नका लागि राष्ट्रिय एकताको आधार पार्ने असाधारण दिन पनि हो ।”

प्रतिक्रिया