राष्ट्रिय सभा सदस्य निर्वाचन : पुस २० गतेपछि उम्मेदवारी दर्ता

राष्ट्रिय सभा सदस्य निर्वाचन : पुस २० गतेपछि उम्मेदवारी दर्ता



काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रयोजनका लागि कार्यतालिका स्वीकृत गरेको छ । जस अनुसार पुस २० गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन हुने छ ।

निर्वाचन कार्यक्रम अन्तर्गत मनोनयन दर्ता, दाबी विरोध, मनोनयन फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशनलगायतका काम हुने छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आन्तरिक व्यवस्थापन तथा प्रशासकीय सहजताका लागि आयोगले कार्यतालिका बनाएको जानकारी दिए । आवश्यकता अनुसार आयोगले कार्यतालिकामा फेरबदल पनि गर्न सक्ने छ । उनले भने, “आयोगको आन्तरिक कार्यलाई व्यवस्थित बनाउन कार्यतालिका स्वीकृत भएको हो । दलहरूसँगको परामर्शमा निर्वाचन कार्यक्रम पछि प्रकाशन हुने छ ।”

कार्यतालिका अनुसार आयोगले मङ्सिर पहिलो साता निर्वाचन प्रयोजनका लागि दल दर्ता आह्वान गर्ने छ । दल दर्ताका लागि आयोगले एक साताको समयसीमा तोक्दै आएको छ । दर्ताका लागि प्राप्त निवेदनउपर छानबिन गरी आयोगले मङ्सिर दोस्रो साता दर्ता स्वीकृत र निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।

आयोगले स्वीकृत गरेको कार्यतालिकाबमोजिम निर्वाचन कार्यक्रम मङ्सिर दोस्रो साताभित्र प्रकाशन गरिने छ । त्यसअघि निर्वाचन आयोगले मतदाता नामावली तयार गर्ने, निर्वाचन सामग्री पहिचान, मौज्दात विश्लेषण तथा अनुमानलगायतका काम कात्तिकभित्रै टुङ्ग्याउने छ । मतदाता नामावली भने पुस पहिलो साता सार्वजनिक गरिने छ ।

सम्बन्धित प्रदेशका प्रदेश सभा सदस्य र प्रदेशभित्रका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख सम्मिलित निर्वाचकमण्डलले राष्ट्रिय सभाका सदस्य पदका लागि मतदान गर्ने कानुनी व्यवस्था छ ।

आगामी फागुन २० गते राष्ट्रिय सभाका १९ जना सदस्यको पदावधि सकिँदै छ । १८ जना निर्वाचित र राष्ट्रपतिबाट मनोनीत एक गरी १९ जना सदस्यको पदावधि सकिन लागेको हो ।