कतार (दोहा) । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा मङ्गलबारदेखि सुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भएर आज यहाँबाट स्वदेश प्रस्थान गरेका छन् ।
उनलाई यहाँस्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेल र कतारको विदेश मन्त्रालय एवम् नेपाली दूतावासका उच्च अधिकारीले बिदाई गरेका थिए ।
कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार यहाँ आएका हुन् ।
उनले संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार दोहामा भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ को मुख्य सत्रलाई मङ्गलबार सम्बोधन गरे ।
साथै उनले सम्मेलन अन्तर्गत आयोजित सामाजिक विकासका तीन स्तम्भहरूको सुदृढीकरणः गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवम् सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाईसमेत सम्बोधन गरेका थिए ।
राष्ट्रपति पौडेलले मङ्गलबार नै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेट गरेका थिए । पौडेलले बुधबार यहाँस्थित कतार राष्ट्रिय सङ्ग्रहालयको पनि अवलोकन गरेका थिए ।


प्रतिक्रिया