काठमाडौं । राजसंस्था फर्काउने उद्देश्यले राजनीतिमा सक्रिय मेडिकल व्यवसायी दुर्गा प्रसाइँ भारतमा त्यहाँका सुरक्षा निकायको उच्च निगरानीमा रहेको खुलेको छ । भारतको नाम लिएर पटक–पटक आन्दोलनमा होमिएका प्रसाइँलाई भारत भ्रमणका क्रममा उच्च अधिकारीले भेट नदिएको र सुरक्षा अधिकारीले समेत उच्च निगरानीमा राखेको खुलेको छ ।
नेपालमा दलहरूको विरुद्धमा कडा अभिव्यक्ति दिएर चर्चामा रहेका र आफूलाई भारत निकट घोषणा गरेका प्रसाइँले यसअघि राजाको स्वागतका लागि गरेको कार्यक्रममा भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको तस्बिर प्रदर्शन गरेका थिए ।
गत चैतमा राजसंस्था फर्काउन भएको आन्दोलनमा धनजनको क्षतिपछि उनी भागेर भारत पुगेको र त्यहाँ लुकेर बसेको बेला भारतीय सुरक्षाकर्मीको सहयोगमा नेपाल फर्काइएको थियो ।
नेपालमा हिन्दु राष्ट्र संस्था फर्काउन भारतको सहयोग रहेको बताउँदै आएका प्रसाइँ गत सोमबार उपचारका लागि भारत पुगेका थिए । मंसिर ७ गतेदेखि आन्दोलन गर्ने तयारीमा रहेका उनले सो आन्दोलनमा भारतको सहयोग रहेको देखाउन भारत पुगेका थिए ।
उनले त्यहाँका दलका नेता, मन्त्री र केही बुद्धिजीवीहरूलाई भेटेर आफूलाई भारतको सहयोग रहेको देखाउन खोजे पनि नेपालबाट उड्न लाग्दा नै भारतीय खुफिया एजेन्सी ‘रअ’ को निगरानीमा थिए ।
भारत जान लाग्दा नेपालस्थित भारतीय दूतावासले समेत परराष्ट्र मन्त्रालयमार्फत नेपाल सरकारसँग भ्रमणबारे चासो लिएको थियो ।


प्रतिक्रिया