त्रिभुवन विमानस्थलमा ४ घण्टा उडान ठप्प

त्रिभुवन विमानस्थलमा ४ घण्टा उडान ठप्प


ग्लोब नेपाल
108
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेका बत्तीको संयन्त्र (एयरफिल्ड लाइटिङ सिस्टम) मा समस्या आएपछि चार घण्टा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सेवा अवरुद्ध भयो । बेलुका करिब ६:०० देखि बन्द उडान राति १०:०० बजेतिर पुनः सञ्चालन भएको थियो ।

विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाका अनुसार धावनमार्गको एयरफिल्ड लाइटिङ सिस्टममा समस्या आएपछि नोटिस फर एयरम्यान (नोटाम) जारी गरेर मर्मतपछि विमानस्थल सञ्चालनमा ल्याइएको हो । विमानस्थलका निर्देशक एवं प्रवक्ता रेञ्जी शेर्पाका अनुसार शनिबार साँझ ५:३० बजेदेखि लाइटिङमा समस्या आउँदा केही जहाज आकाशमा ‘होल्ड’मा राखेर गन्तव्यबाट आएका जहाज अन्यत्र पठाइएको छ ।

उनले आन्तरिक उडानका जहाजलाई विमानस्थलमा रोकिएको जनाउँदै अन्तरराष्ट्रियतर्फका केही जहाज आकाशमा होल्ड गरिएको बताए । आन्तरिक उडानबाट काठमाडौं आउने जहाज भने सम्बन्धित गन्तव्यमा नै रोकिएको प्रवक्ता शेर्पाले उल्लेख गरे । रातिको समयमा विमानस्थलको धावनमार्गमा जहाज उडान तथा अवतरणका लागि उज्यालो बनाउने बत्तीलाई ‘एयर फिल्ड लाइटिङ’ भनिन्छ ।