काठमाडौं । विगत केही दिनयता थामसर्कु ट्रेकिङसम्बन्धी विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको कम्पनीले जनाएको छ । कम्पनी अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल ट्रष्टको कार्यालयसँग कानुनी प्रक्रिया पूरा गरी २०७४ साल जेठ १४ गते लिजमा लिएको काठमाडौं महानगरपालिका वडा नं. १ दरबारमार्गस्थित नेपाल ट्रष्टको नाममा रहेको जग्गा, सो मा यस कम्पनीले बनाएको भवन, लिज रकम, लिज अवधि, लिज क्षेत्रफललगायतका विषयमा भ्रामक, कपोकल्पित र प्रचलित कानुनको बर्खिलाप हुने गरी प्रकाशित समाचार र सूचनाहरुप्रति यस कम्पनीको आपत्ति रहेको छ ।’
नेपाल ट्रष्टको कार्यालयबाट मिति २०७३ साल असार १४ गते गोरखापत्र दैनिक पत्रिकामा प्रकाशित लिज प्रस्ताव आह्वानको सूचना बमोजिम यस कम्पनीले टेन्डर प्रक्रियामा सरिक भई १ अर्ब ५९ करोड ४० लाख ५२ हजार ४ रुपैयाँ ६० पैसा (जग्गाको हकमा १ अर्ब ४० करोड १० लाख ८६ हजार ७७ रुपैयाँ र भवन निर्माणको हकमा १९ करोड २९ लाख ६५ हजार ९ सय २७ रुपैयाँ ६० पैसा) तिर्ने प्रस्ताव गरी तोकिएको सम्पूर्ण सर्तहरु पूरा गरी दरबारमार्गस्थित नेपाल ट्रष्टको नाममा रहेको जग्गा निर्माण अवधिको ३ वर्षसहित जम्मा ३० वर्षका लागि लिजमा प्राप्त गरेको अध्यक्ष ल्हाक्पाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । लिज प्राप्त गरी कोभिड–१९ को विषम परिस्थितिमा पनि यस कम्पनीले उक्त जग्गामा सम्झौतामा उल्लेखित निर्माण अवधिभित्रै भवन निर्माण गरी सञ्चालनमा ल्याइ सोही मितिदेखि लिजवापतको रकम भुक्तानी गर्दै आइरहेको व्यहोरा जानकारी गराउँदै विज्ञप्तिमा भनिएको छ, ‘कम्पनीले १९ करोड २९ लाख ६५ हजार ९ सय २७ रुपैयाँ ६० पैसाको लागतमा भवन निर्माण गर्ने भनी प्रस्ताव गरिएता पनि भवन निर्माण गर्दै जाँदा उक्त भवनको लागत ४० करोड रुपैयाँभन्दा बढी परेको र जग्गाको लिजवापत हालसम्म २१ करोडभन्दा बढी रकम यस कम्पनीले नेपाल ट्रष्टको कार्यालयलाई भुक्तानी गरिसकिएको व्यहोरा जानकारी गराउन चाहन्छौं ।’
समाचारमा प्रकाशित गरिएजसरी कम्पनीले अनाधिकृत रुपमा सरकारी जग्गा कहिल्यै पनि प्रयास नगरेको विज्ञप्तिमा स्पष्ट पारिएको छ । कित्ता नं. ४६०६ मा मात्रै भवन निर्माण गरिएको र अनाधिकृत रुपमा प्रयोग गरिएको भनिएको कित्ता नं. ४६०५ मा कुनै संरचना निर्माण नभएको तथा साविक झै बाटोकै रुपमा काम रहेको कम्पनीले विज्ञप्तिमार्फत् स्पष्ट पारेको छ ।
लिज रकम ६ अर्ब भनेर जसरी प्रसारित गरिएको छ, यसमा कुनै सत्यता नभएको कम्पनीले स्पष्ट पारेको छ ।
समाचार र सूचनाले समाजमा भ्रम सिर्जना हुने र यसबाट कानुनी राज्यको बर्खिलाफ भएको कम्पनीले बताएको छ । यस्ता गतिविधिले असल व्यवसायीलाई गरिखान असहज अवस्था सिर्जना हुन पुग्ने र यसप्रति सचेत हुन र कानुनी राज्यप्रति सम्वेदनशील हुन र सम्मान गर्न सम्बन्धित सबैप्रति कम्पनीले अपिल गरेको छ ।


प्रतिक्रिया