काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी आसन्न निर्वाचनको पक्षमा दृढ रहेको प्रस्ट पारेका छन् । केही सांसदहरूले संसद पुनर्स्थापनाको माग गर्दै हस्ताक्षर संकलन सुरु गरेपछि महामन्त्री थापाको यो भनाइ सार्वजनिक भएको हो ।
बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्ट्याटस लेख्दै थापाले संविधानलाई सही मार्गमा ल्याउने एकमात्र बाटो निर्वाचन भएको र यस विषयमा कांग्रेसमा कुनै अलमल नरहेको बताएका छन् । उनले फागुन २१ गते हुने निर्वाचनमा कांग्रेसले भाग लिने मात्र नभई यसलाई सफल बनाउन पनि पूर्ण रूपमा लागिपर्ने उल्लेख गरेका छन् ।
थापाले प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा पनि कांग्रेसले चुनावमा जाने पार्टीको निर्णयलाई स्पष्ट रूपमा राखेको स्मरण गराएका छन् । उनका अनुसार, केन्द्रीय कार्यसम्पादन समितिको निर्णय पनि यही हो ।
आइतबार कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्याम घिमिरेले संसद पुनर्स्थापनाका लागि विघटित प्रतिनिधिसभाका सांसदहरूको हस्ताक्षर संकलन सुरु गरेको बताएका थिए । घिमिरेले संकलित हस्ताक्षर पार्टी केन्द्रीय समितिमा बुझाउने र न्यायालयको ढोका ढकढक्याउन पनि यसको प्रयोग गरिने जानकारी दिएका थिए ।
यद्यपि, महामन्त्री थापाले केन्द्रीय कार्यसमितिमा भइरहेको अलमल संसद पुनर्स्थापना कि निर्वाचन भन्ने विषयमा नरहेको स्पष्ट पारेका छन् । उनले भने, ‘केन्द्रीय कार्यसमितिमा अहिले भइरहेको अलमल यो विषयका सन्दर्भमा होइन । यस सन्दर्भमा हामी स्पष्ट छौं ।’


प्रतिक्रिया