मधेसमा प्रहरी र मुख्यमन्त्री कार्यालयका कर्मचारीमाथि कुटपिट

मधेसमा प्रहरी र मुख्यमन्त्री कार्यालयका कर्मचारीमाथि कुटपिट



जनकपुर । मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिका विषयमा विवाद हुँदा प्रहरी र कर्मचारीमाथि कुटपिट गरिएको छ । मुख्यमन्त्रीको नियुक्ति प्रक्रियामा असन्तुष्ट समूहले प्रहरी र मुख्यमन्त्री कार्यालयका कर्मचारीमाथि कुटपिट गरेको हो ।

सोमबार बिहान मधेसका मुख्यमन्त्रीको कार्यकक्षमा रहेका कर्मचारी र कार्यालयको सुरक्षामा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गरिएको जनाइएको छ ।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं डीआईजी गोविन्द थपलियाले असन्तुष्ट समूहले बिहान केही अभद्र व्यवहार गर्न खोजेको बताए ।

मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि नेपाली कांग्रेससहितका सात दलले विरोध गरिरहेका छन् ।

उनीहरुले जनकपुरधामस्थित विभिन्न मन्त्रालयका फर्निचरलगायतका सामग्री तोडफोड गरेका छन् । प्रदेशअन्तर्गतका मन्त्रालयहरूमा तालाबन्दी गरेका छन् ।

यसैगरी बजारका विभिन्न ठाउँमा टायर बालेर विरोध प्रदर्शनमा उत्रेका विपक्षी नेता तथा कार्यकर्ताहरू प्रदेश प्रमुख सुमित्रादेवी भण्डारी र नवनियुक्त मुख्यमन्त्री यादवको विरोधमा नाराबाजी गरिरहेका छन् ।

यसैबीच लोसपा प्रदेश संसदीय दलका नेता जैनुल राइनले मुख्यमन्त्री नियुक्तिमा प्रदेश प्रमुख भण्डारीको भूमिका शंकास्पद भएको आरोप लगाउँदै मुख्यमन्त्री नियुक्तिको राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने बताए ।

यता, जिल्ला प्रशासन कार्यालय धनुषाले संयमित भई विरोधका कार्यक्रम गर्न आग्रह गरिहेको, तनावको वातावरण अन्त्य गर्न अधिकतम प्रयास गरिरहेको र मानवीय तथा भौतिक क्षति हुन नदिन संयम अपनाइरहेको स्पष्ट गरेको छ ।