कुलमान बर्खास्तीको माग गर्दै जेनजी मुभमेन्टले गर्‍यो आन्दोलनको घोषणा

कुलमान बर्खास्तीको माग गर्दै जेनजी मुभमेन्टले गर्‍यो आन्दोलनको घोषणा


ग्लोब नेपाल
243
Shares

काठमाडौं । युवाहरूको सशक्त समूह जेनजी मुभमेन्टले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । घिसिङ र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालको मिलेमतोमा राष्ट्रघाती विद्युत खरिद सम्झौता भएको आरोप लगाउँदै मुभमेन्टले आन्दोलनको घोषणा गरेको हो ।

जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय साहले आज एक विज्ञप्ति जारी गर्दै ऊर्जा मन्त्री घिसिङ र प्राधिकरणका प्रबन्ध निर्देशक सिलवालको सेटिङमा भारतको पीटीसी इन्डिया कम्पनीसँग ४३ करोड रुपैयाँ बराबरको नोक्सानी हुने गरी गैरकानूनी विद्युत खरिद सम्झौता भएको बताए । यो सम्झौता देशको आर्थिक स्वाधीनतामाथि खुलेआम प्रहार भएको उनको भनाइ छ । विज्ञप्तिमा उल्लेख भएअनुसार, यो सम्झौता विद्युत नियमन आयोगको स्वीकृति बिना गरिएको तथ्य प्रष्ट भएको छ, जुन सिधा-सिधा भ्रष्टाचार र राष्ट्रिय स्वार्थको बिक्री हो ।

जेनजी मुभमेन्टले आफ्ना मागहरू अगाडि सार्दै भनेको छ, ‘ऊर्जामन्त्री कुलमान घिसिङलाई तुरुन्त बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्नुपर्छ । प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवाललाई तत्काल निलम्बन गरी सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत छानबिन थाल्नुपर्छ । विद्युत नियमन आयोगले स्वतन्त्र छानबिन समिति गठन गरी सम्पूर्ण विद्युत् सम्झौताहरू सार्वजनिक गर्नुपर्छ ।’

मुभमेन्टले राष्ट्रघाती सम्झौतामा संलग्नहरूलाई जेल हाल्न र राज्यका सम्पत्ति फिर्ता गराउन कानूनी प्रक्रिया तुरुन्त शुरु गर्न समेत माग गरेको छ । यस विषयमा सरकारले तत्काल ठोस कदम नचाले थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी पनि जेनजी मुभमेन्टले दिएको छ ।