बीबीसीलाई मुद्दा हाल्नु आफ्नो दायित्व : ट्रम्प

बीबीसीलाई मुद्दा हाल्नु आफ्नो दायित्व : ट्रम्प



वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सम्पादित भाषण प्रसारण मामिलामा बीबीसीलाई मुद्दा हाल्नु आफ्नो ‘दायित्व’ भएको बताएका छन् । बीबीसीको चर्चित कार्यक्रम पानोरामा अन्तर्गत प्रसारित एक वृत्तचित्रमा उनको भाषण सम्पादनको विषयलाई लिएर उनले सो कुरा बताएका हुन् ।

२०२१ को जनवरी ६ मा आफूले दिएको भाषणको ‘हत्या’ गरिएको र यसलाई प्रस्तुत गरिएको तरिकाले यो भाषणहरूलाई हेर्नेलाई भ्रमित पारेको फक्स न्यूजसँग कुरा गर्दै उनले बताए ।

उनका वकिलहरूले बीबीसीलाई पत्र लेखेपछि ट्रम्पले सार्वजनिक रूपमा बोलेको यो पहिलो पटक हो । बीबीसीले सम्पादित भाषण भएको वृत्तचित्र पूरै फिर्ता लिने, आफूसँग माफी माग्ने र क्षतिपूर्ति दिने काम नगरेमा १ अर्ब डलर माग गर्दै मुद्दा हाल्ने पनि ट्रम्पले बताएका छन् । बीबीसीका अध्यक्ष समीर शाहले पहिले नै सम्पादनमा निर्णायक त्रुटिको लागि माफी मागिसकेका छन् ।

फक्स न्युजको द इन्ग्राहम एङ्गलमा ट्रम्पलाई उनले मुद्दा अगाडि बढाउनेछन् कि भनेर सोधिएको थियो । ‘मलाई लाग्छ मैले यसो गर्नैपर्छ, तपाईंलाई थाहा छ, किन ? किनभने तिनीहरूले जनतालाई धोका दिए, अनि तिनीहरूले आफैँले पनि यो कुरा स्वीकार गरेका छन्’ जवाफमा ट्रम्पले भनेका थिए ।

‘तिनीहरूले वास्तवमा जनवरी ६ को मेरो भाषणमा हेरफेर गरे, जुन एउटा सुन्दर भाषण थियो, जुन एकदमै शान्त भाषण थियो र तिनीहरूले यसलाई कट्टरपन्थी बनाए’ अगाडि बोल्ने क्रममा ट्रम्पले भने ।

बीबीसीले भाषणमा जसरी हेरफेर गरे त्यो एकदमै अविश्वसनीय भएको पनि उनले बताए । त्यसो भए कानुनी कारबाही अगाडि बढाउने हो त भनेर सोध्दा ट्रम्पले आफूमा यस्तो गर्नुपर्ने दायित्व भएको बताएका थिए । अरू मानिसहरूलाई पनि यस्तो गर्न नदिने उद्देश्यले कानुनी कारबाहीलाई अगाडि बढाउनुपर्नेमा उनले जोड दिएका थिए ।

आइतबार ट्रम्पका वकिलहरूबाट बीबीसीले पाएको पत्रमा वृत्तचित्र पूरै अनि निष्पक्ष रूपमा फिर्ता लिनुपर्ने, ट्रम्पसँग माफी माग्नुपर्ने र यस काण्डका कारण ट्रम्पलाई भएको क्षतिको बीबीसीले उचित क्षतिपूर्ति दिनुपर्ने माग राखिएको थियो । पत्रको उत्तर दिन बीबीसीलाई शुक्रवार २२ः ०० जीएमटीसम्मको समय दिइएको छ । बीबीसीले यसको उचित समयमा प्रतिक्रिया दिने पनि जनाएको छ ।