गृहमन्त्री अर्यालबाट आइजिपी खापुङको बिदाइ

गृहमन्त्री अर्यालबाट आइजिपी खापुङको बिदाइ



काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले प्रहरी सेवामा रहंदा र नेतृत्वमा छोटै समय रहनु भए पनि उनले देखाएको बौद्धिकता र पेसाप्रतिको दक्षताले प्रहरीभित्र कर्मचारीको मनोबल उच्च नै रहेको बताएका छन् ।

३० वर्षीय अनिवार्य सेवा पश्चात् बुधबारबाट अवकाशमा जान लाग्नु भएका खापुङलाई सुखद जीवनको बधाई दिँदै, मन्त्री अर्यालले खापुङले उहाँको अनुभव अवकाश जीवनपछि पनि राष्ट्रलाई खाचो रहेको बताए ।

सरकार गठनको परिस्थिति र अवस्थाबारे सबैलाई जगजाहेर रहेको कुरा बताउदै गृहमन्त्री अर्यालले भने, ‘आइजिपीसँगको सम्बन्ध छोटो नै भए पनि विशेष नै रह्यो ।’ गृह मन्त्रालयको नेतृत्व र प्रहरी प्रमुख र सम्पूर्ण जिम्मेवार प्रहरीको अनुभव र कार्यकुशलताले मात्रै समग्रमा एउटा राष्ट्र सफल हुने विचार गृहमन्त्री अर्यालले व्यक्त गरे ।

गृहमन्त्री अर्यालले भने, ‘अवकाश हुँदैमा छुट हुँदैन, राष्ट्रिय जीवनमा तपाईंहरुको योगदान यो मुलुकले अपेक्षा गरिरहने छ ।’

कार्यक्रममा बोल्दै आइजिपी खापुङले कुनै पनि सेवामा सफल हुनका लागि सेवाप्रति निष्ठा भाव र लगनशीलता महत्त्वपूर्ण हुने कुरा व्यक्त गरे ।