भ्रष्टाचारमुक्त राष्ट्र निर्माणमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की

भ्रष्टाचारमुक्त राष्ट्र निर्माणमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारमुक्त राष्ट्र निर्माणमा सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका निकायको समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले सरकारको कामलाई निष्पक्ष, सहज र सेवाग्राही मैत्री भए नभएको सूक्ष्म निगरानी र अनुगमनका लागि राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देशनसमेत दिइन् ।

‘सुशासनयुक्त र भ्रष्‍टाचारमुक्त राष्‍ट्र निर्माणप्रति वर्तमान सरकार कटिबद्ध र प्रतिबद्ध रहेको सन्दर्भमा सार्वजनिक निकायबाट सम्पादन भएका काम कार्यवाही निष्‍पक्ष, स्वच्छ, सहज र सेवाग्राही मैत्री भए नभएको सूक्ष्म निगरानी तथा अनुगमन गर्न राष्‍ट्रिय सतर्कता केन्द्रले थप पहल गर्न निर्देशन गर्दछु’, प्रधानमन्त्री कार्कीले भनिन् ।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका निकायको आर्थिक वर्ष २०८२/८३ मा सञ्‍चालित कार्यक्रमको प्रथम त्रैमासिक अवधिको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गरेकी हुन् ।