काठमाडौं । नेकपा (एमाले)का सचिव एवं पूर्वमन्त्री छविलाल विश्वकर्माले ‘जेनजी’ आन्दोलनमा अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई सरकारले तत्काल कारबाही गर्नुपर्ने माग गरेका छन् ।
शनिबार बुटवलमा आयोजित जनसभामा बोल्दै उनले जेनजी आन्दोलनमा घुसपैठ भई मुलुकमा गुन्डागर्दी गर्ने, निजी तथा सार्वजनिक सम्पत्ति धराशायी बनाउनेलाई सरकारले अझै कारबाहीको दायरामा ल्याउन नसकेको भन्दै आक्रोश समेत व्यक्त गरे ।
उनले जेलबाट भागेका कैदीलाई नियन्त्रणमा लिने कार्य पनि नगरिएको भन्दै प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको आलोचना गरे ।
सचिव विश्वकर्माले मुलुकलाई संकटबाट पार लगाउन आफ्नो पार्टीले सक्दो पहल गरिरहेको जिकिर समेत गरे ।
कार्यक्रममा विश्वकर्माले भने, ‘जसले घुसपैठ गरे, जसले यसखालको गुन्डागर्दी गरे, जसले यसखालको आतंकित गतिविधि गरे, जसले देशको सम्पत्ति, निजी सम्पत्ति, प्रतिष्ठानहरू – यसलाई धराशायी बनाउने काम गरे, अब यो सरकारले त्यो छानबिन गर्न पर्दैन ? ती अपराधीहरूलाई कानुनको दायरामा ल्याउनु पर्दैन ? जेलबाट हजारौँ कैदीहरू छुटेका छन्, तिनलाई ल्याउनका लागि यो सरकारले के गरिरहेको छ ? जनताको प्रश्न छ । त्यो जवाफ दिने सामर्थ्य सम्माननीय सुशील कार्कीसँग हुनुपर्छ कि पर्दैन ? गृहमन्त्रीसँग हुनुपर्छ कि पर्दैन ? यो सरकारसँग हुुनुपर्छ कि पर्दैन ?’
फागुन २१ को निर्वाचन हनी ट्र्याप हो : उपाध्यक्ष बादल
नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले फागुन २१ गते घोषित निर्वाचनलाई प्रतिक्रान्तिलाई वैधानिकता दिने र दलहरुलाई विस्थापित गर्ने हनी ट्र्याप भएको दाबी गरेका छन् ।
आज चितवनमा नेकपा एमालेले गरेको जनप्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै उपाध्यक्ष बादलले भने, ‘फागुन २१ को निर्वाचन प्रतिक्रान्तिलाई पूर्णता र वैधानिकता दिनको निम्ति गराउने निर्वाचन हो । यो सामान्य निर्वाचन होइन । संसदीय निर्वाचन जस्तो निर्वाचन होइन । साम्राज्यवादीहरुले आफ्नो दलालहरुलाई स्थापित गर्ने र प्रतिक्रान्तिलाई पूर्णता दिने र प्रतिक्रान्तिको सरकारलाई स्थायित्व दिने नौटङ्की हो । यो एउटा हनी ट्र्याप हो ।’
उनले फागुन २१ को निर्वाचनमा नेकपा एमाले नपरेको र पर्नु नहुने पनि बताएका थिए । पश्चिमा साम्राज्यवादीहरुले नेपालका जनमत भएका दलहरुलाई सिध्याएर साम्राज्यवादीका दलालाहरुलाई स्थापित गर्ने रणनीति अनुसार निर्वाचन घोषणा गरिएके र फागुन २१ अघि दलका नेता र दलहरु सिध्याउन नसके सुशीला कार्की नेतृत्वको सरकार पनि हटाइने उनको दाबी थियो ।
‘दलहरु हटाउने निर्देशन सुशीला कार्कीलाई दिइएको छ । उनले फागुन २१ अघि दलहरु सिध्याउन सकिनन् भने उनलाई हटाइदिन्छन्,’ बादलले थपे,‘र म गर्छु भन्ने दलाललाई स्थापित गरिदिन्छन्,अर्को अन्तरिम अस्थायी सरकार बनाउँछन् ।’
मुलुकलाई संकटबाट उकास्न एमाले सक्षम छ : शंकर पोखरेल
एमाले महासचिव शंकर पोखरेलले मुलुकलाई संकटबाट उकास्न आफ्नो दल सक्षम रहेको बताएका छन् ।
एमाले बाँके जिल्ला कमिटीले शनिबार नेपालगन्जमा आयोजना गरेको जनसभामा उनले राष्ट्रलाई वर्तमान संकटबाट उकास्न पार्टी क्रियाशील रहेको बताए ।
‘जनताको रोजाइमा पहिलो पार्टी बनिसकेको थियो, अब हामी एमालेलाई निर्णायक राष्ट्रिय शक्तिमा बदल्ने अभियानमा छौँ,’ उनले भने ।
राष्ट्रलाई वर्तमान संकटबाट उकास्न सबै लोकतन्त्रवादी एकजुट हुनुपर्नेमा उनले जोड दिए ।
महासचिव पोखरेलले भने, ‘देशको संकट टार्न र लोकतन्त्रलाई सही बाटोमा फर्काउन प्रतिनिधिसभाको पुनर्स्थापना गरेर त्यसका माध्यमबाट युवाका माग सम्बोधन गर्न सकिन्छ ।’


प्रतिक्रिया