नेपाली कांग्रेसले २०८२ फाल्गुन २१ गते हुने निर्वाचनलाई केन्द्रविन्दुमा राखेर आफ्नो सम्पुर्ण गतिविधि संचालन गर्नु पर्छ । विषम परिस्थितिजन्य बाध्यताले सीधा बाटोबाट अलिकति अलग हुन बाध्य भएको नेपालको संविधानलाई चुनावले मात्रै मूलबाटोमा ल्याउन सक्छ । यसर्थ, नेपाली कांग्रेसको अहिलेको लक्ष्य – चुनाव, चुनाव र चुनाव नै हुनु पर्छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति देखि वडा कार्य समितिसम्मका सबै तहहरु तन, मन र वचनले चुनावको तयारीमा लाग्नु पर्छ । चुनावले मात्रै बहुलवादमा आधारित बहुदलिय लोकतन्त्रलाई जीवित राख्न सक्छ र चलायमान बनाउन सक्छ । प्रतिनिधि सभा पुर्नबहालीको सम्बन्धमा सम्मानित सर्वोच्च अदालतको निर्णय नेपाली कांग्रेसलाई स्विकार्य हुन्छ ।
१. नेपाली कांग्रेसले प्रतिनिधि सभा (प्रत्यक्ष र समानुपातिक तर्फ), राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहहरुको निर्वाचनमा अहिलेसम्म कुनै पनि अवसर नपाएकाहरुलाई उम्मेदवार बनाउनु पर्छ । पार्टीमा राजनीतिक न्याय, राजनीतिक सुरक्षा र राजनीतिक अवसरको समान र न्यायोचित वितरण हुन्छ भन्ने व्यवहारिक विश्वास र अनुभूति हुनु पर्छ ।
२. नेपाली कांग्रेसको विधानको धारा (२३) अनुसार गठन हुने केन्द्रीय कार्य सम्पादन समितिलाई पुर्णता दिनु पर्छ र यसमा अहिलेसम्म कुनै पनि अवसर नपाएका युवाहरु (५०% पुरुष र ५०% महिला)लाई मनोनित गर्नु पर्छ ।
३. नेपाली कांग्रेसको विधानको धारा ३१ (घ) अनुसार गठन हुने केन्द्रीय संसदीय समितिलाई पुर्णता दिनु पर्छ र यसमा अहिलेसम्म कुनै पनि अवसर नपाएका युवाहरु (५०% पुरुष र ५०% महिला)लाई मनोनित गर्नु पर्छ ।
४. नेपाली कांग्रेसले १६५ प्रतिनिधि सभा, ३३० प्रदेश सभा र ७५३ स्थानीय तहको निर्वाचनमा एक्लै आफ्नो उम्मेदवार लिएर चुनावमा जानु पर्छ । अन्य कुनै पनि दलसंग प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्नु हुंदैन ।
५. तर, राष्ट्रिय सभा, राष्ट्रपति र उप-राष्ट्रपति पदको निर्वाचनमा नेपाली कांग्रेसले आवश्यक अवस्थामा आवश्यकता अनुसार अन्य दलहरुसंग गठबन्धन गर्न सकिने ढोकालाई पनि खुल्ला राख्नु पर्छ ।
६. नेपाली कांग्रेसले प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहहरुको उम्मेदवारहरु तत्काल घोषणा गरेर आम मतदाताको घरदैलो पार्टीको उम्मेदवारहरु लिएर चांडो भन्दा चाडो पुग्नु पर्छ ।
७. नेपाली कांग्रेसले या त प्रतिनिधि सभामा आफ्नो एकल बहुमत नआए सम्म सरकार गठन नगर्ने वैधानिक व्यवस्था गर्नु पर्छ । या त प्रतिनिधि सभामा पार्टीको एकल बहुमत नरहेको अवस्थामा सरकार निर्माणको क्रममा अन्य दलहरुसंग आवश्यकता अनुसार गठबन्धन गर्न सकिने विकल्पलाई पनि खुल्ला राख्ने निर्णय गर्नु पर्दछ । गठबन्धनको विषयमा मौसम अनुसार बोल्ने र मुड अनुसार बोली परिवर्तन गरिरहने प्रवृतिलाई रोक्ने वैधानिक व्यबस्था पार्टीले गर्नु पर्छ ।
हाम्रो सबैभन्दा ठुलो कमजोरी भनेको नै प्रणाली केन्द्रित बहस नगरेर व्यक्ति केन्द्रित बहस गर्नु हो । प्रणालीगत परिवर्तनको विषयमा बहस गर्दा पनि एउटा व्यक्ति खराब भयो भने सर्वस्व नाश हुन्छ भन्ने उदाहरणबाट बहसको प्रारम्भ र अन्त्य गर्छौं। प्रणालीको अगाडि व्यक्ति एउटा सानो अंश मात्र हो भन्ने सत्यलाई बिर्सिन्छौं र मनगढन्ते पुर्वाग्रही निचोड निकाल्छौं ।
सत्तामा रहेर सत्ताको स्वाद चाखिसकेकाहरु वा स्वाद चाखिरहेकाहरु तथा समाजमा बसेर संघर्ष गरिरहेकाहरुको आनीबानी, सोंच, व्यवहार र कुनै व्यक्ति, विषय या मुद्दालाई हेर्ने दृष्टिकोणमा नै अतुलनीय फरक हुने रहेछ । यही असमानता, विभेद र चरम असंतुष्टिको घर्षणले नै अभेद जिजीविषु संघर्षलाई जन्म दिने रहेछ ।
पत्रिका, अनलाईन, युट्यूब, सामाजिक संजालहरु र लेख रचनामा आएका गंभीर विषयहरुलाई पुरै नपढीकन वा नहेरिकन केवल हामी हेडलाईन हेरेको भरमा मात्रै धारणा बनाउछौं र कमेन्ट गर्छौं ।
हामीमा कुनै विषयको गंभीरतालाई १० मिनेट पढने वा ५० मिनेट हेर्ने पनि धैर्यता छैन । गंभीर विषयहरुलाई प्राथमिकतामा राखेर एक घण्टा पढने वा एक घण्टा हेर्ने फुर्सद नभएको व्यक्तिले के समाज र देशमा सकारात्मक परिवर्तन ल्याउन सक्छ र ? मानिसलाई उत्तेजित तुल्याउनु, अराजक बनाउनु र सकारात्मक आमूल परिवर्तन ल्याउनु पृथक पृथक विषयहरु हुन् ।
हामी जति धेरै अधैर्य समाज निर्माण गर्छौं, देशको समृद्धि र आमूल परिवर्तन त्यति नै पर धकेलिन्छ ।
आफु वा आफ्नो समुदायलाई मनोबैज्ञानिकरुपमा अदृश्य केन्द्रविन्दुमा राखेर धारणाहरु प्रस्तुत गर्छौं । आफ्नो जाती, समुदाय र भुगोल भन्दा माथि उठेर विशुद्ध प्रणालीको विषयमा मात्र बहस भएको दुर्लभ नै पाईन्छ ।हामी यथायिस्थितिमा परिवर्तन त चाहन्छौं । तर परिवर्तनको लागि चुकाउनु पर्ने मुल्य र धैर्यको लागि तयार हुंदैनौं । हामी संसारको सबै व्यक्ति, संस्था, नीति र प्रणालीमा परिवर्तन चाहन्छौं तर आफु स्वयं कहिल्यै परिवर्तन हुदैनौं । परिवर्तन हामीले आफु स्वयंबाट शुरु गर्ने हो कि ?
हामी हाम्रो सपनाको राजकुमार आएर सबै बेथितिहरु पल भरमा नै समाधान गरोस् भन्ने चाहन्छौं, जुन सपनामा त संभव हुन सक्छ तर विपनामा असंभव छ । हाम्रा सपनाहरु अरु कसैले आएर पुरा गरि दिदैन, आफु स्वयंले पुरा गर्नु पर्छ । हाम्रो सपनाहरु हामी आफैले पुरा गर्ने शाहस गर्नु पर्छ र यसको लागि चुकाउनु पर्ने मुल्य र धैर्यको लागि पनि तयार रहनु पर्दछ । यो असल शासकीय प्रणाली, नीतिगत स्पष्टता र राज्यका दरिलो संस्थाहरुबाट मात्र संभव हुन सक्छ ।
हामी प्रणालीमा सुधार वा परिवर्तन त चाहन्छौं तर प्रणालीमा नै भरोसा गर्दैनौं । हामी नीतिगत सुधार त चाहन्छौं तर नीतिमा नै विश्वास गर्दैनौं । हामी व्यक्ति माथि नै विश्वास, भरोशा र आशा गर्दछौं । व्यक्तिको पूजा, अराधाना, गुणगान र चाकडी गर्ने मानसिकताबाट माथि उठनै सकेका छैनौं । आफुलाई परिवर्तनको वाहक त भन्छौं, तर सत्य के हो भने यसमा कसैले पनि विश्वास गरि रहेको छैनन् ।
आफुलाई अग्रगामी र अरुलाई पश्चगामी ठानेर ठुलठुलो स्वरमा कुर्लनेहरु पनि अधिकांश दास मानसिकताबाट माथि उठन सकेका छैनन् । दास मानसिकताको क्रान्तिकारी भन्दा क्रान्तिकारी मानसिकताको दासबाट सकारात्मक आमूल परिवर्तन संभव छ । आमूल परिवर्तनको प्रमुख शत्रु नै दास मानसिकता हो जुन सबै पुस्ता, उमेर, समुदाय र वर्गमा रहेको हुन सक्छ । मानसिक दासहरुको विश्वास हुंदैन ।
रोबोट हुनुमा गौरव गर्छन् र रिमोटको तालमा आफ्नो नाच देखाउछन् र समाजलाई अचम्मसंग नजानिदो तरिकाले बर्बाद पारिरहेका छन् । यहाँ सबैले रोबोट खोज्छन् र रोबोटलाई नै रोज्छन् किनकी योग्यता र क्षमता नभए पनि यहां सबैलाई रिमोट बन्नै पर्ने मनोरोगले प्रशस्त गांजेको छ ।
प्रणालीमा सुधार वा परिवर्तन गर्नु छ भने प्रणालीमा नै केन्द्रीत भएर बहस गरौं । नीतिमा परिवर्तन वा सुधार चाहने भए नीति केन्द्रीत भएर बहस गरौं । संसारमा कुनै पनि प्रणाली वा नीति यस्तो छैन कि जसमा असल र खराब पक्षहरु संगसंगै रहेको नहोस् । आमूल परिवर्तनले समय, धैर्य, निरन्तरता र एकाग्रता माग्छ । जादुगरको जस्तो क्षणिक नक्कली छुमन्तर माग्दैन ।
प्रणाली तथा नीतिको चरित्र र मानिसको स्वभावमा धेरै नै फरक हुन्छ ।
प्रणालीले राम्रोगरी काम गर्न थाल्यो भने जस्तोसुकै खराब व्यक्ति आए पनि प्रणाली र नीतिहरुले थोरै समयमा नै त्यस व्यक्तिमा धेरै सुधार ल्याउन सक्छ। तर जस्तोसुकै राम्रो व्यक्ति आए पनि उसले जकडिएर रहेको प्रणाली र नीतिमा धेरै समय लगाएर पनि थोरै सुधार ल्याउन सक्ने संभावना मात्र हुन सक्छ ।
यसैले, व्यक्ति भन्दा असल प्रणाली नै आमूल परिवर्तनको लागि अति आवश्यक हुन्छ । प्रणालीको बिकल्पमा उत्तम प्रणाली नै हुन्छ, कुनै व्यक्ति हुंदैन ।
यसर्थ, असल प्रणालीको बहसलाई नियोजित र पुर्वाग्रही तरिकाले कुनै खराब स्वभावको व्यक्तिको उदाहरण दिएर अन्त्य गर्ने प्रवृतिले समाज र देशलाई अन्धकारमा पारि राखेको छ र अझ अनन्त अन्धकारतर्फ धकेल्ने संभावना बढन पनि सक्छ ।
सचेत बनौं ।


प्रतिक्रिया