ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका–६ हिमाली बस्ती घुन्सा र फलेटारमा स्याउखेतीको परीक्षण सफल भएको छ ।
स्थानीय किसान र विभिन्न सङ्घ संस्थाले परीक्षणका रूपमा रोपेका स्याउको बिरुवामा फल लागेपछि उत्साह बढेको छ ।
विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा आधार शिविर प्रवेशद्वारमा अवस्थित फले र घुन्सामा इटालीबाट ल्याइएका बिरुवा रोपिएको थियो ।
रोपेको ६ महिनामै स्याउ फल्न थालेपछि स्थानीय किसान उत्साहित भएका छन् ।
स्याउ खेतीको यो प्रयासले ताप्लेजुङमात्र होइन, सम्पूर्ण पूर्वी हिमाली क्षेत्रका किसानका लागि व्यावसायिक स्याउखेतीको नयाँ सम्भावना देखिएको छ ।
फलेटार र ग्याप्ला क्षेत्रमा विगतदेखि नै स्याउखेती हुँदै आएको भए पनि घुन्सामा पहिलोपटक परीक्षण गरिएको हो ।मनाङ एग्रो फार्मको समन्वयमा इटालीबाट ल्याइएका ‘फुजी’ र ‘गोल्डेन डेलिसियस’ प्रजातिका स्याउका बिरुवा रोपिएको थियो ।
पुतली सहयोग योजनाका जिल्ला संयोजक दावाछिरिङ शेर्पाका अनुसार परियोजनाको उद्देश्य स्याउ उत्पादनसँगै अन्य कृषि उपजमार्फत किसानलाई आर्थिक रूपमा सशक्त बनाउनुरहेको छ । घुन्साका स्थानीय नुपुडुण्डुक शेर्पा अहिले आफ्नै स्याउ बगैँचा विस्तार गर्ने योजनामा छन् ।


प्रतिक्रिया