काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण हेर्न जाने दर्शकका लागि काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक व्यवस्थापन योजना बनाएको छ ।
कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट रंगशालामा आजदेखि शुरू हुन लागेको नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगितालाई मध्यनजर गरी ट्राफिक व्यवस्थापन योजना बनाएको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार एनपीएल हेर्न जाँदा गाडी, मोटरसाइकल, स्कुटर लगायत लिएर जानेका लागि सहज बनाउन विभिन्न ठाउँमा पार्किङको व्यवस्था गरिएको हो ।
उच्च पदस्थका गाडीलाई त्रिवि खेल मैदानको मुख्य गेटभित्र, दर्शकका लागि तीनकुने नजिकको खेल मैदान, घडी आइल्याण्डको नजिकको खेल मैदान, आयुर्वेदिक अस्पताल परिसर, त्रिवि गेटदेखि उपकुलपति कार्यालयसम्मको सडक किनार, सुन्दरीघाट सानेपा खोला करिडोरलाई तोकिएको छ । ट्राफिक प्रहरीले जथाभावी पार्किङ नगरी तोकिएको ठाउँमा मात्र पार्किङ गर्न अनुरोध पनि गरेको छ ।


प्रतिक्रिया