मधेश प्रदेश सभामुखविरुद्ध अविश्वास प्रस्तावमा आजै निर्णय आउने !

मधेश प्रदेश सभामुखविरुद्ध अविश्वास प्रस्तावमा आजै निर्णय आउने !


ग्लोब नेपाल
135
Shares

जनकपुरधाम । मधेश प्रदेशसभामा आज दिउँसो १ बजे बस्ने बैठकले सभामुख रामचन्द्र मण्डलविरुद्ध दर्ता भएको ‘पद अनुकूल आचरण नगरेको’ भन्ने प्रस्तावमाथि छलफल गर्ने भएको छ । प्रदेशसभा सचिवालयले सामाजिक सञ्जालमार्फत बैठकको सूचना जारी गरेको छ ।

गत कात्तिक २७ गते सात दलीय गठबन्धनका ६४ जना प्रदेश सांसदले सभामुख मण्डलले आफ्नो पदको गरिमा कायम राख्न नसकेको भन्दै प्रदेशसभामा प्रस्ताव दर्ता गराएका थिए । यस विषयमा एक साताभित्र सदनमा छलफल गर्नुपर्ने कानुनी व्यवस्था अनुसार आज बैठक आह्वान गरिएको हो ।

प्रदेशसभाकी उपसभामुख बबिता राउत ईशरको निर्देशनमा बैठक बोलाइएको हो । मंगलबार सात दलीय गठबन्धनका ३२ जना प्रदेश सांसदले उपसभामुख ईशरलाई बैठक बोलाउन ज्ञापनपत्र बुझाएका थिए ।

यस बैठकलाई मधेश प्रदेशको राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ । सभामुखमाथिको यो प्रस्तावले प्रदेशको राजनीतिमा नयाँ मोड ल्याउने सम्भावना रहेको विश्लेषकहरू बताउँछन् ।