सिमरा घटना राजनीतिक रूपमा दुःखद : रामहरि खतिवडा

सिमरा घटना राजनीतिक रूपमा दुःखद : रामहरि खतिवडा



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले सिमरामा भएको घटना राजनीतिक रूपमा दुःखद र निन्दनीय भएको बताएका छन्।

नेकपा एमालेका नेताहरूलाई बारामा प्रवेश निषेध गरिएको विषयलाई संकेत गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। नेता खतिवडाले शान्तिपूर्ण सभामा सहभागी हुने तथा सम्बोधन गर्ने अधिकार सबै नागरिकको संवैधानिक अधिकार रहेको बताए। “जेनजी होस् वा गैर-जेनजी, सबैलाई अधिकार समान छ। मुठभेडले आजको समस्या समाधान हुँदैन। अब राजनीतिक प्रतिशोधको व्यवहार कसैमाथि पनि नगर्नुहोस्,” उनले भने।

नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेता महेश बस्नेतलगायतका नेताहरू एक कार्यक्रमका लागि जाने भएपछि सिमरा विमानस्थलमा जेनजी समूहका युवाले रोकावट सिर्जना गर्ने प्रयास गरेका थिए। सो क्रममा जेनजी समूहले विरोध कार्यक्रम चलाइरहेका बेला युवा संघका कार्यकर्तासँग भनाभन् भएको थियो।

भनाभनपछि जेनजी समूहका युवा र युवा संघका कार्यकर्ताबीच हातहालाहाल भएको र त्यसपछि प्रहरीले हस्तक्षेप गरेकाे प्रहरी स्रोतले जनाएको छ। प्रहरी र जेनजी युवाबीच समेत झडप भएपछि स्थिति थप जटिल बनेको थियो।

स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले सिमरा क्षेत्रमा दिउँसो १२:३० बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ।