सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिका ५ मझाउ टोल की २२ वर्षीया सुमन कुमारी मण्डलको २०७८ साल फागुन २९ गते तिलाठी कोइलाडी गाउँपालिका ७ सडेपारका राधेश्यामसँग विवाह भयो । नयाँ सपना बोकेर नयाँ जीवनको सुरुवात गर्ने उनको त्यो सपना साकार हुन सकेन । किनभने विवाह भएको ४ दिनमै उनी घर निकालामा परिन ।
मागे जति दाइजो नल्याएको निहुँमा उनीमाथि निर्घात कुटपीट गर्दै घर निकाला गरियो । ससुराली पक्षबाट पीडित उनी अहिले न्यायका लागि भौतारी रहेकी छन् ।
सोही क्रममा राजविराजमा सञ्चारकर्मीसँग कुरा गर्दै सुमनले श्रीमान राधेश्याम, ससुरा शत्रुघन, सासु सोभा र नन्द अनिताले मागे जतीको दाइजो नल्याएको भन्दै निर्घात कुटपीट गर्दै घर निकाला समेत गरिदिएको गुनासो पोखिन् ।
विवाह दर्ताका पटक–पटक आग्रह गर्दा पनि नमानेको र उल्टै श्रीमान, सासु, ससुरा र नन्दसहित सिङ्गो परिवारबाट यातना भोग्नु परेको उनले सुनाइन । श्रीमानलाई अर्का विहे गर्ने बाटो खुला होस भन्ने मनसायले पनि आफुसँग यस्तो व्यवहार भएको उनले दुखेसो पोखिन् ।
ससुराली पक्षले घरमा राख्न अस्वीकार गरेपछि सुमन लामो समयदेखि माइती घरमा बस्दै आएकी छन् । दुवै पक्षका अभिभावकको सहमतिमा भएको विवाहमा दुईलाख ५० हजार रुपैयाँ नगद, आधी तोला सुनको गरगहना, लत्ताकपडा, भाँडाकुडा र फर्निचर लगायतका सामग्री दिएको सुमनका बुवा कृष्णदेवले बताए ।
उनले थप दाइजोको रुपमा गाउँमा आफ्नो नाममा रहेको पाँच कठ्ठा जग्गा माग्दै दबाब दिन थालिएको र असमर्थता व्यक्त गरेपछि छोरीलाई शारीरिक र मानसिक यातना दिइएको आरोप लगाए । छोरीलाई यातना दिनेमाथि कारवाहीको माग गर्दै न्यायका लागि प्रहरी हुँदै अदालतसम्म पुगेको बुवा कृष्णदेवले जानकारी दिए । यससबारे उनका श्रीमान राधेश्यामसँग जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन ।


प्रतिक्रिया