काठमाडौं । सङ्घीय राजधानी काठमाण्डौ उपत्यकाबाट बाहिर जाने सबै यात्रुवाहक गाडी नयाँबसपार्कबाट सञ्चालन गर्ने काठमाडौं महानगरपालिकाको निर्णय कार्यान्वयनमा समस्या देखिएको छ ।
काठमाडौं महानगरपालिकाले २०८० साल जेठ १९ गते सूचना प्रकाशित गरी त्यही वर्षको असार १ गतेदेखि उपत्यकाबाहिर जाने सम्पूर्ण यात्रुवाहक गाडी नयाँबसपार्कबाट सञ्चालन गर्ने निर्णय गरे पनि साढे दुई वर्ष बितिसक्दासमेत त्यो निर्णय कार्यान्वयन हुन सकेको छैन ।
महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले महानगरले सबै सार्वजनिक गाडी नयाँबसपार्क भित्रबाट सञ्चालन गर्न पहल गर्दै आएको बताए । नगर प्रहरी प्रमुख पाण्डेका अनुसार महानगरले गरेको निर्णय पूर्णरूपमा कार्यान्वयन गर्न समस्या भएको ५ । सबै क्षेत्रको साथ र सहयोगले निर्णय कार्यान्वयन गर्न महानगर प्रहरी प्रतिबद्ध रहेको उनको भनाइ छ ।
अहिले काठमाण्डौको गौशाला, चावहिल, बालाजु, माछापोखरी, कलङ्की, कोटेश्वर, बल्खुलगायतका चक्रपथ वरपर सडक तथा करिडोरबाट सार्वजनिक गाडी सञ्चालन हुँदै आएका छन् ।
महानगरपालिकाले गोङ्गबुमा रहेको विष्णुमती किनारमा आफ्नै स्वामित्वमा रहेको १६१ रोपनी क्षेत्रफलमा नयाँबसपार्क निर्माण गरेर लोत्से बहुउद्देश्यीय प्रालिलाई सञ्चालनका लागि दिएको छ ।
महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले यातायात व्यवसायीको अटेरीका कारण नयाँबसपार्कबाट सार्वजनिक गाडी सञ्चालन गर्न कठिनाइ भइरहेको बताए ।
महानगरपालिकाले सूचना निकालेपछि काठमाण्डौबाट पोखरा, चितवन, बुटवललगायत क्षेत्रमा सञ्चालन हुने ठूला तथा माइक्रोबस नयाँबसपार्कबाट सञ्चालन हुन थालेका छन् । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र शाह निर्वाचित भएर आएसँगै महानगरपालिकाले चक्रपथको वरपर जथाभाबी रूपमा सञ्चालन भएका १०० भन्दा बढी बस टिकट काउन्टर हटाएको थियो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले राजधानीभित्रको सार्वजनिक गाडीलाई व्यवस्थित रूपमा सञ्चालन गर्न व्यवसायी तयार रहेको बताए । ‘यात्रु, व्यवसायी र सरकार सबैलाई सहज हुने ढङ्गले सार्वजनिक यातायात सञ्चालन गर्नुपर्छ’ उनले भने ।
अहिले गोङ्गबुमा रहेकाे नयाँबसपार्कबाट दैनिक लामो दूरीका ३०० र छोटो तथा मध्यम दूरीका २०० बस देशका विभिन्न भागका लागि गुड्छन् ।


प्रतिक्रिया