फागुन २१ गतेको चुनावमा नजाने एमाले एक्लो पार्टी

फागुन २१ गतेको चुनावमा नजाने एमाले एक्लो पार्टी



काठमाडौं । फागुन २१ गते हुने आम निर्वाचनमा सहभागी नहुने नेकपा एमाले एक्लो पार्टी बनेको छ । एमालेले फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुने औपचारिक निर्णय आजको मितिसम्म गरेको छैन, बरु उसले वर्तमान सरकार असंवैधानिक भएकाले संसद पुनर्स्थापनामा जोड दिएको छ । निर्वाचनसँग नडराउने तर फागुन २१ गते निर्वाचन नहुने नेकपा एमालेले बताउँदै आएको छ । एमाले महासचिव शंकर पोखरेलले भने, ‘नहुने निर्वाचनको विषयमा बहस गरेर समय खेरफाल्नु भन्दा संसद पुनर्स्थापना गरेर राजनीतिक निकास खोज्नुपर्छ ।’

एमालेले केन्द्रदेखि स्थानीय तहसम्म विरोधका कार्यक्रम जारी राखेको छ । मंसिर २७ देखि २९ गतेसम्म हुने पार्टीको ११ औं महाधिवेशनको तयारीमा जुटेको एमाले एक्लो त्यस्तो पार्टी बनेको छ, जसले आजका मितिसम्म फागुन २१ गतेको निर्वाचनमा जाने औपचारिक निर्णय गरेको छैन । राष्ट्रिय स्वयसेवक फोर्स गठन गरेर वर्तमान सुशीला कार्कीसँग भिड्न्तको तयारी गरेको बुझिन्छ । यो फोर्स महाधिवेशनमा सहयोगका लागि गठन भएको होइन भन्ने तथ्य सिमरा घटनाले उजागर गरिदिएको छ ।

नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा जाने निर्णय गरिसकेको छ । हिजो शनिबार बसेको कांग्रेस केन्द्रीय कमिटीको बैठकले औपचारिक निर्णय गरेको हो । त्यसैगरी मधेस केन्द्रित ७ राजनीतिक दलले चुनावमा भाग लिने औपचारिक निर्णय गरिसकेका छन् । संघीय लोकतान्त्रिक मोर्चाको शनिबार राजधानीमा बसेको बैठकले १० माघमा हुने राष्ट्रियसभा र २१ फागुनमा घोषित प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने निर्णय गरेको हुन् । यस्तै उनीहरुले निर्वाचनमा गठबन्धन गर्ने पनि निर्णय गरेका छन् ।

मोर्चामा जनता मसाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपा नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी ९तमलोपा०, राष्ट्रिय मुक्ति पार्टी र जनता प्रगतिशील पार्टी आवद्ध छन् ।

यता, महामन्त्री गगनकुमार थापाले एमालेले उत्तेजनाको नेतृत्व गरिरहेको टिप्पणी गरेका छन्। उनले काँग्रेसले अब शान्तिको नेतृत्व गर्ने बताए। उनले एमालेलाई लक्षित गर्दै कुनै घृणा र उत्तेजनाको भाषा प्रयोग नगर्न आग्रह गरे। राजनीतिक दलहरूले आफ्नो गतिविधि गर्न कुनै अवरोध हुन नहुने समेत बताएका छन्।