विराटनगरमा महेश बस्नेत सवार गाडीमा रातो मसी छ्यापियो

विराटनगरमा महेश बस्नेत सवार गाडीमा रातो मसी छ्यापियो

दुई युवा पक्राउ


ग्लोब नेपाल
216
Shares

मोरङ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेत सवार गाडीमा आज विराटनगरमा रातो मसी (अबिर मिसिएको पानी) छ्यापिएको छ। घटनामा संलग्न दुई जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटना विराटनगर विमानस्थलको एयरपोर्ट लाइन सडकमा भएको हो। इटहरीमा आयोजित युवा संघ नेपालको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन श्री एयरलाइन्सको जहाजबाट १०:५० बजे विराटनगर आएका बस्नेत विमानस्थलबाट बाहिरिने क्रममा प्रहरी भ्यानको स्कर्टिङमा थिए।

प्रहरीले तत्काल गाडी रोकेर दुई जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा विराटनगर–२ का १९ वर्षीय अरजित कुँवर र विराटनगर–१ का २५ वर्षीय संजोग गौतम रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। उनीहरूलाई अहिले सोही कार्यालयमा राखिएको छ।

पक्राउ परेका कुँवरले प्रहरीलाई दिएको बयानमा “महेश बस्नेत र नेकपा एमालेविरुद्ध सांकेतिक विरोध जनाउन रातो मसी फ्याँकेको” बताएका छन्। प्रहरी भ्यानमा राखेर लैजाँदा पनि उनले बस्नेतविरुद्ध नारा लगाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ। यद्यपि, आक्रमणकारीले प्रयोग गरेको रातो मसीले गाडीको अगाडिको सिसा र बडीमा दाग लागेको छ। बस्नेतलाई भने कुनै शारीरिक क्षति पुगेको छैन।

यो घटना एमालेको युवा संघको कार्यक्रमका क्रममा भएकोले राजनीतिक रंग दिइएको छ तर पक्राउ परेकाहरूले कुनै दलसँग आबद्ध भएको खुलाएका छैनन्।