काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयले कर्मचारी नियुक्तिको विषयमा प्रकाशित–प्रसारित सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सोमबार सचिवालयले विज्ञप्ति जारी गर्दै सो कुरा बताएको हो ।
जेनजी आन्दोलनको बलमा स्थापित यस सरकारका प्रधानमन्त्रीले मितव्ययिता, पारदर्शिता र जवाफदेहिताका सन्दर्भमा जिम्मेवार र संवेदनशील रही सोहीअनुरुपको आचरण र व्यवहार गर्दै आउनुभएको सचिवालयले प्रष्ट पारेको छ ।
राज्यकोषमा कमभन्दा कम भार परोस् र छरितो रुपमा काम गर्न सकियोस् भनेर निकै कम जनशक्तिबाट प्रधानमन्त्रीको सचिवालय सञ्चालन हुँदैआएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले प्रष्ट पार्नुभएको छ ।
प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ (एघारौँ संशोधन २०८१) को ३ (३) मा स्वकीय सचिवालयका प्रमुख स्वकीयसचिव प्रधानमन्त्रीबाट नियुक्त हुने र अन्य पदमा प्रधानमन्त्रीको निर्देशनमा प्रमुख स्वकीय सचिवले नियुक्त गर्न सक्ने व्यवस्था छ ।
सोही व्यवस्थाबमोजिम प्रधानमन्त्रीले आफूले भरोसा गर्न सक्ने व्यक्तिलाई प्रमुख स्वकीय सचिव नियुक्त गरेकाे उनले बताएका छन् । प्रधानमन्त्रीको परिवारमा आफूसँग श्रीमान् मात्र रहेकाे र उनीहरुको वृद्ध उमेरको कारण पारिवारिक रुपमा सहयोग गर्न सक्ने विश्वासिलो व्यक्ति प्रधानमन्त्रीले छनोट गरी नियुक्त गरेकाे उनले बताए ।
प्रधानमन्त्रीको निवासमा रही नजिकबाट सहयोग गर्नुपर्ने र चौबीसै घण्टा पनि सँगै रहेर खट्नुपर्ने भएकाले सुरक्षाका कारणबाट समेत विश्वासिलो, भरपर्दो र रातदिन खटिएर काम गर्न सक्ने व्यक्तिको कानुनसम्मत नियुक्तिलाई लिएर प्रश्न उठाइ अन्यथा व्याख्या नगर्न सचिवालयले अनुरोध गरेको छ ।


प्रतिक्रिया