कांग्रेसलाई राष्ट्रपतिको सुझावः निर्वाचनको विकल्प नसोच्नुस्

कांग्रेसलाई राष्ट्रपतिको सुझावः निर्वाचनको विकल्प नसोच्नुस्


ग्लोब नेपाल
270
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर नेताहरूलाई प्रतिनिधिसभा निर्वाचनको वैकल्पिक बाटो कल्पना नगर्न आग्रह गरेका छन् ।

आज सोमबार भेटघाटका लागि शीतलनिवास पुगेका कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै आएका केही नेताहरूसँग उनले २१ फागुनका लागि तय भएको निर्वाचनबाहेक अन्य वैकल्पिक बाटोको कल्पना नगर्न सुझाव दिएको स्रोतले जानकारी दिएको छ ।

भेटमा सहभागी कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनले राष्ट्रपतिको भनाइ उद्धृत गर्दै भने, ‘चुनाव हुन्छ । तपाईंहरू चुनावमा जानुस् । चुनावभन्दा अर्को वैकल्पिक बाटो कल्पना पनि नगर्नुस् ।’ राष्ट्रपति पौडेल निर्वाचनबाटै मुलुकलाई निकासतर्फ लैजानु पर्ने पक्षमा रहेका उनको भनाइ छ ।

‘चुनाव हुन्छ, चुनावबाटै निकास निकाल्नुपर्छ भन्ने मान्यता छ उहाँको,’ प्रदेश सभापति पुनले भने । राष्ट्रपति पौडेलले कांग्रेसका नेताहरूलाई मिलेर जान र नेतृत्वलाई व्यवस्थित गर्न पनि सल्लाह दिएका छन् ।

राष्ट्रपतिसँगको संवाद मुख्यतया राजनीतिक निकास र समयमै निर्वाचन गराउने विषयमा केन्द्रित रहेको सभापति पुनको भनाइ छ ।

‘तपाईंहरू मिलेर जानुस् र कांग्रेसलाई पनि सुधारेर लैजानुस्,’ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै पुनले भने, ‘नेतृत्वसँगको सल्लाहमा निकास निकालेर विधानसम्मत नेतृत्व चयन गर्नुस् ।’

नेताहरूले निर्वाचनको वातावरण निर्माणका लागि सरकारले दलहरूसँग संवाद बढाउनुपर्ने विषय पनि राष्ट्रपति समक्ष राखेका थिए ।